कञ्चनपुर- तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ। अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उनले दसैँ, तिहारको समयमा मादल बनाउने गर्छन्।
नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदै गर्दा मादलको माग बढेको वादीले बताए।
'दसैँ र तिहारको समयमा मादल बनाउने माग बढी आउने गरेको छ, विशेषगरी तिहारको समयमा मादलको बिक्री हुन्छ', उनले भने, 'तिहारका मागअनुसार मादल पुर्याउन पनि सकिँदैन।' तिहारमा मादल बिक्रीबाट ४० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उनले उल्लेख गरे।
केही वर्षअघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको वादीले बताए। 'दुई-तीन वर्षअघिसम्म तीजमा मादलको माग उच्च थियो, अहिले तिहारमा मात्रै खोजी हुन्छ', उनले भने, 'मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजारसम्म बिक्री हुन्छ।'
कच्चा पदार्थ नपाउँदा समस्या
वाद्यवादनका सामग्री बनाउनु वादी समुदायको पुर्ख्यौली पेसा हो। पछिल्लो समय वाद्यवादनका सामग्री बनाउन कच्चापदार्थ पाउन कठिन भएपछि पेसा नै संकटमा पर्न थालेको दोधारा चाँदनी-३ का वादीले जानकारी दिए। 'बाजेबुबाले वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभयो, अहिले कच्चापदार्थ रूपमा आवश्यक पर्ने छाला र काठ (खमारी) नपाउँदा समस्या हुन्छ', उनले भने।
मादलमा बाख्राको छालाको प्रयोग हुने बताउँदै भारतीय छिमेकी सहरमा छाला पाइने भए पनि नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउने गरेकाले समस्या हुने वादीको अनुभव छ। छाला र खमारी सहजरूपमा नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने सेवाग्राही बढी हुने गरेका उनले बताए।
उनका अनुसार भारतीय बजारमा एउटा छालाको एक हजार रूपैयाँसम्ममा खरिद गर्न पाइन्छ। 'यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छाला मात्रै पाउँदैन', उनले भने, 'भारतीय सहरमा पाइन्छ सीमानाकामा ल्याउन पाइँदैन।'
वादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्रीवितरण गर्नु हो। विभिन्न पर्वमा नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदायले बढ्दो आधुनिकतासँगै पुर्ख्यौली पेसा संकटमा पर्दै गएको बताउँछन्। रासस