काठमाडौं- नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडको संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न स्वीकृति दिएको छ।
पाकिस्तानको हबिब बैंक लिमिटेडले आफूसँग रहेका हिमालयन बैंकका २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर नेशनल लाइफलाई बिक्री गर्न साउनको अन्तिम साता सम्झौता गरेको थियो। सम्झौताअनुसार कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको हो।
राष्ट्र बैंकको स्वीकृति पाएपछि अब हबिब बैंकको नाममा रहेका संस्थापक सेयर नेशनल लाइफमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्नेछ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को प्रावधानअनुसार कुनै पनि बैंक वा वित्तीय संस्था सञ्चालनको पाँच वर्षसम्म संस्थापक सेयर बिक्री गर्न पाइँदैन। त्यसपछिका वर्षमा पनि संस्थापक समूहकै अन्य सेयरधनीलाई प्राथमिकता दिएरमात्र बिक्री गर्न सकिने व्यवस्था छ। त्यस्तै दुई प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका कम्पनी वा संगठित संस्थाले आफ्नो सेयर बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान पनि ऐनमा छ।
हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा रहेका संस्थापक सेयर खरीदका लागि संस्थापक सेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो। सूचनामा न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको थियो। नेशनल लाइफले सोभन्दा ६ रुपैयाँ ८ पैसा बढी, अर्थात् प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा खरिद गर्ने प्रस्ताव गरेपछि सम्झौता सम्पन्न भएको हो।
हाल हिमालयन बैंकमा नेशनल लाइफ इन्स्योरेन्सको १ दशमलव २५ प्रतिशत सेयर हिस्सा रहेको छ। यो सेयर खरिदपछि नेशनल लाइफको स्वामित्व १४ प्रतिशत पुग्नेछ।
यसअघि हबिब बैंकले आफ्ना सेयर बेच्न गरेको प्रयास दुईपटक असफल भएको थियो। करिब चार वर्षअघि बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) सँग भएको सम्झौता सञ्चालकको विरोधका कारण रोकिएको थियो। त्यसपछि २०८० मंसिरमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई प्रतिकित्ता १३० रुपैयाँमा बिक्री गर्ने सम्झौता भए पनि राष्ट्र बैंकले स्वीकृति नदिँदा कारोबार सम्पन्न हुन सकेको थिएन।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहकै अन्य सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। यसपटक नेशनल लाइफले संस्थापक समूहकै हैसियतमा खरिद प्रस्ताव गरेपछि हबिबसँगको सम्झौता सहजरूपमा सम्पन्न भएको हो।