काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीले खुलेआम 'कमिसन तन्त्र' चलाइरहेका छन्। त्यसको एउटा प्रमाण हो, न्यारोबडी जहाजको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिएको विषय।
अध्यक्ष अधिकारीको कमिसन खेलमा निगम सञ्चालक समितिदेखि विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मौन छन्। सबैको 'मौन समर्थन'कै कारण निगम कार्यकारी अध्यक्ष अधिकारीले मर्मत भइसकेको इन्जिनसमेत नेपाल ल्याएका छैनन्। जहाजमा प्रयोग भएको भाडाको इन्जिनबाट कमिसन उठाइरहेका छन्।
निगमले २०२३ को सेप्टेम्बर २८ देखि भाडामा लिएको इन्जिनबाट नै जहाज उडाइरहेको छ। इन्जिन भाडामा लिँदै मर्मतका लागि दिइएको इन्जिन मर्मत भएको पनि एक वर्ष भइसकेको छ।
तर इन्जिन ल्याउने काम भएको छैन। इन्जिन भाडामा प्रयोग गरिरहेको निगमले यसमा ४५ करोड रूपैयाँभन्दा बढी खर्च गरिसकेको छ। निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको कलसाइन 'नाइन एन-एकेएक्स' जहाज ७ सय ४६ दिनदेखि भाडाको इन्जिनमा उडिरहेको छ।
बिग्रिएको इन्जिन मर्मतका लागि पठाइएको समेत १८ महिना भइसकेको छ। मर्मतका लागि इजरायल पठाइएको इन्जिन २०२४ को अक्टोबर २० मा नै मर्मतको काम सकेर कम्पनीले लिन आउन सूचना पठाएको थियो। तर इन्जिन अहिलेसम्म ल्याइएको छैन। भाडाको इन्जिन चलाएर निगम कार्यकारी अध्यक्ष अधिकारी र उनको समूहले आर्थिक लाभ लिइरहेको छ।
भाडाको इन्जिन प्रयोग भएको जहाजमा अहिले उडान भए पनि, नभए पनि प्रतिदिन २ हजार डलर खर्च भइरहेको छ। यसैगरी, भाडाको इन्जिनको प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल (एक टेकअफ र एक ल्याण्डिङ) को २ सय ३९ डलर खर्च भइरहेको छ।
अहिले निगमले भाडाकै इन्जिनमा प्रतिदिन १० लाख रूपैयाँ खर्च गरिरहेको छ। तर अधिकारीलाई कसैले कारबाही गर्न सकेको छैन। त्यतिमात्र होइन, निगममा भइरहेको आर्थिक हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा संसदीय समितिसमेत अनभिज्ञजस्तै देखिन्छन्।
निगमको 'नाइन एन-एकेएक्स' जहाजमा २०२३ को जुन २० मा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड भयो। इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने विषयमा इन्जिन निर्माण कम्पनीले जानकारी गरायो। तर निगमसँग जगेडा इन्जिन थिएन।
इन्जिन बिग्रनासाथ मर्मतका लागि दिने र जहाज उडानका लागि इन्जिन भाडामा लिन कम्पनी छनोट भएको थिएन। जसका कारण जहाज एकसय दिन ग्राउन्डेड भयो।
सन् २०२३ को सेप्टेम्बर २८ मा मात्रै जहाज उडानमा फर्कियो। उक्त समय भाडाको इन्जिन राखेर जहाज उडानमा आएको थियो। जहाज उडानमा आउनुभन्दा अगाडि त्यहीबीचमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले बढी कमिसनका लागि सेटिङमै जुन कम्पनीलाई इन्जिन मर्मत गर्न दिइन्छ त्यही कम्पनीसँग भाडाको इन्जिन लिनेगरी कम्पनी छनोट गरेका थिए।
अधिकारीले इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई इन्जिन मर्मत गर्न दिने र उसैसँग इन्जिन भाडामा लिने गरी कम्पनी छनोट गरेका थिए। सन् २०२३ को जुन २० मा इन्जिन ब्रिग्रिएर ग्राउन्डेड भएको जहाजको इन्जिन २०२३ को सेप्टेम्बर २८ मा मर्मतका लागि इजरायल एरोस्पेस इन्डस्ट्रिज कम्पनीलाई हस्तान्तरण गरियो।
इन्जिन मर्मतका लागि दिँदै भाडाको इन्जिन राखेर जहाज उडानमा फर्काइयो। ६५ दिनमा इन्जिन मर्मत गरेर दिन प्रतिबद्धतासँगै इन्जिन मर्मतमा छोडिएको थियो। यो काम फत्ते हुँदासम्म जहाज एकसय दिन ग्राउन्ड भएको थियो।
सामान्यतया न्यारोबडी जहाजको दैनिक आम्दानी १ करोड १५ लाख हो। यही हिसाबमा एकसय दिन जहाज ग्राउन्डेड हुँदामात्रै निगमले १ अर्ब १५ करोड रूपैयाँ आम्दानी गुमाएको थियो। जहाज उडानका फर्किएको दुई महिनामै फेरि ग्राउन्डेड भयो। जहाजको अर्को इन्जिनमा समस्या देखियो। समस्या देखिएको इन्जिन पनि मर्मत नगरी जहाज उडान गर्न नमिल्ने भयो। २०२३ को नोभेम्बर ३० मा जहाज ग्राउन्डेड भयो।
इन्जिन मर्मतको काम गरिरहेको कम्पनीले सेप्टेम्बर २८ मा मर्मतका लागि लिएको इन्जिन नै मर्मत गरिसकेको थिएन। कम्पनीले जनाएको प्रतिबद्धताअनुसार ६५ दिनमा इन्जिन मर्मत गरेर दिन सकेन। साथै, अर्को भाडाको इन्जिनसमेत दिन सकेन।
जहाज ग्राउन्डेड भएको विषयमा विरोध सुरु भएपछि इन्जिन मर्मत नै नहुँदै मर्मत भइसकेकाले इन्जिन राख्न भन्दै जहाज इजरायल लगियो। जहाज इजरायलमा चार महिनाभन्दा बढी समय ग्राउन्डेड भयो।
समग्रमा इन्जिन पाँच महिना ग्राउन्डे भयो। सेप्टेम्बरमा मर्मतका लागि दिएको इन्जिन कम्पनीले २०२४ को अप्रिल २८ मा दिएपछि २०२३ को नोभेम्बर ३० मा बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर मर्मत भएको इन्जिन राखेर जहाज उडानमा फर्कियो। तर सेप्टेम्बर २८ मा भाडामा लिएको इन्जिनलाई निरन्तरता दिँदै जहाज उडानमा आयो।
जुन अहिले पनि निरन्तर नै रहेको छ। इन्जिन भाडामा लिएको ७ सय ४६ दिन भइसकेको छ। यो बीचमा जहाज २०२३ को नोभेम्बर ३० देखि २०२४ को अप्रिलसम्म १ सय ५१ दिन जहाज ग्राउन्डेड भयो। उक्त समयको पनि कम्पनी इन्जिन भाडाबापतको दैनिक लिने भनेको २ हजार डलर नलिने जानकारी गरायो। तर निगम व्यवस्थापनले इन्जिन भाडामा लिदाँ र मर्मतमा लापरबाही गरेको विषयमा विरोध भयो।
विरोध रोक्नकै लागि निगमले कम्पनीसँग ८० लाख डलरबराबरको क्षति भएको भन्दै दाबी गरेर पत्र पठायो। तर कम्पनीले त्यो दिएन। अहिले यही विषयमा विवाद गरेको जस्तै गरेर निगम अध्यक्ष अधिकारीले भाडाको इन्जिन प्रयोग समय लम्ब्याउँदै कमिसन असुली गरिरहेका छन्।
सन् २०२४ को अप्रिल २८ मा मर्मतका लागि इन्जिन छोडिएको १८ महिना भइसकेको छ। तर इन्जिन नेपाल आउन सकेको छैन। इन्जिन मर्मत भएको भन्दै इजरायल एरोस्पेस इन्डस्ट्रिजले २०२४ को अक्टोबर २० मै सबै रकम भुक्तानी गरेर इन्जिन लैजान र भाडामा लिएको इन्जिन फिर्ता गर्न इमेल पठाएको थियो।
कम्पनीले ईमेल पठाएको पनि एक वर्ष हुन लागिसकेको छ तर इन्जिन भाडाको कमिसन लिइरहेका निगम कार्यकारी अध्यक्ष अधिकारी र उच्च व्यवस्थापनका कर्मचारीहरूको मिलेमतोमा इन्जिन ल्याउन खोजिएको छैन। जसकारण भाडाकै इन्जिनमा दैनिक १० लाख रूपैयाँभन्दा बढी खर्च भइरहेको छ।
इन्जिन भाडामा ४० करोड खर्च
निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग एउटा इन्जिन भाडामा लिएको ७ सय ४६ दिन भएको छ। इन्जिन भाडामा लिएको ७ सय ४६ दिनमध्ये १ सय ५० दिन भने जहाज ग्राउन्डेड भएर बसेको थियो। इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने कम्पनीले १ सय ५० दिनको इन्जिन भाडाबापतको रकम नलिने जानकारी निगमलाई गराइसकेको निगम स्रोतको दाबी छ।
इन्जिन मर्मतमा समस्या भएको र भाडाको इन्जिन व्यवस्थापन गर्न नसक्दा जहाज ग्राउन्डेड भएको भन्दै कम्पनीले रकम नलिने बताएको हो। तर १ सय ५० दिन जहाज ग्राउन्डेड हुँदा आम्दानी गुमेको भन्दै निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी क्षतिपूर्ति चाहिने विषय साढे एक वर्षदेखि उठाइरहेको छ। तर त्यसमा कुनै निर्णय भएको छैन।
७ सय ४६ दिनमा जहाज ग्राउन्डेड भएको १ सय ५० दिन कटाएर निगमको जहाजले सरदर ५ सय ९६ दिन भाडाकै इन्जिनमा जहाज उडान गरेको छ। अहिले पनि भाडाकै इन्जिनको भरमा जहाज उडिरहेको छ।
निगमले भाडामा लिएको इन्जिनको भाडाबापत तीनवटा शीर्षकमा रकम भुक्तानी गर्नुपर्छ। पहिलो त जहाज उडे पनि नउडे पनि प्रतिदिन २ हजार डलर तिर्नुपर्ने छ। दोस्रो प्रतिसाइकलको २ सय ३९ डलर तिर्नुपर्छ। यसैगरी तेस्रो शीर्षक हो, जहाज प्रतिघण्टा उडानको आधारमा २ सय ७८ डलर तिर्नुपर्छ।
सोही आधारमा ५ सय ९६ दिनको प्रतिदिन २ हजार डलरको हिसाबमा निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई १६ करोड ४४ लाख ९६ हजार रूपैयाँ तिर्नु परेको हो। (सरदर प्रतिडलर १३८ रूपैयाँको हिसाबमा)
यसैगरी न्यारोबडी जहाजको सरदर दैनिक चार साइकल उडान हुन्छ। निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई प्रतिसाइकल २ सय ३९ डलर भुक्तानी गर्नुपर्छ। सोही हिसाबमा ५ सय ९६ दिन जहाज उडानमा रहँदा प्रतिदिन ४ साइकलको हिसाबमा ७ करोड ८६ लाख २९ हजार रूपैयाँभन्दा बढी खर्च गरिसकेको छ। (सरदर प्रतिडलर १३८ रूपैयाँको हिसाबमा)
यसैगरी, निगमको न्यारोबडी जहाजको दैनिक उडान घण्टा सरदर न्यूनतम नै ९ घण्टा हो। ५ सय ९६ दिनमा सरदर निगमको न्यारोबडी जहाज सोही हिसाबमा ५ हजार ३ सय ६४ घण्टा उडिसकेको छ।
निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई भाडाको इन्जिनबापत प्रतिघण्टा उडानको २ सय ७८ डलर भुक्तानी गर्नुपर्छ। सोही हिसाबका इन्जिनको प्रतिघण्टा उडानको खर्चमात्रै २० करोड ५७ लाख ८४ हजार रूपैयाँभन्दा बढी भइसकेको छ। (सरदर प्रतिडलर १३८ रूपैयाँको हिसाबमा)
समग्रमा भाडामा लिएको इन्जिनमै निगमले ४४ करोड ८७ लाख रूपैयाँभन्दा बढी खर्च गरिसकेको छ।
जहाज ग्राउन्डेड हुँदा गुमाएको आम्दानी
सन् २०२३ को जुन २० देखि २०२३ को सेप्टेम्बर २८ सम्म निगमको 'नाइन एन-एकेएक्स' जहाज एक सय दिन ग्राउन्डेड भएको थियो। सामान्य अवस्थामा निगमले न्यारोबडी जहाजबाट दैनिक १ करोड १५ लाख रूपैयाँ आम्दानी गर्छ। यही हिसाबमा एक सय दिन जहाज ग्राउन्डेड हुँदा निगमले न्यूनतम पनि १ अर्ब १५ करोड रूपैयाँ आम्दानी गुमाएको थियो।
यसैगरी समयमा नै इन्जिन मर्मत नहुँदा र भाडाको इन्जिन व्यवस्थापन नहुँदा जहाज २०२३ को नोभेम्बर ३० देखि २०२४ को अप्रिल २८ सम्म पाँच महिनामा १ सय ५० दिन जहाज ग्राउन्डेड भएको थियो। दैनिक १ करोड १५ लाख रूपैयाँ आम्दानीकै हिसाबमा निगमले दोस्रोपटक पाँच महिना जहाज ग्राउन्डेड हुँदा न्यूनतम १ अर्ब ७२ करोड ५० लाख रूपैयाँ आम्दानी गुमाएको थियो।
समग्रमा उक्त जहाज २०२३ को जुन २० देखि २०२४ को अप्रिल २८ सम्म आइपुग्दा २ सय ५० दिन ग्राउन्डेड भयो। जसबाट निगमले न्यूनतम नै हिसाबमा २ अर्ब ८७ करोड ५० लाख रूपैयाँ आम्दानी गुमायो।


