बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

१८८ कम्पनीमा गिरावट आउँदा पनि मर्जरको चर्चापछि सिभिल बैंकको सेयर मूल्य बढ्यो

बुधबार, फागुन १८ २०७८
१८८ कम्पनीमा गिरावट आउँदा पनि मर्जरको चर्चापछि सिभिल बैंकको सेयर मूल्य बढ्यो

काठमाडौं- समग्र सेयर बजार घट्दा सिभिल बैंकको सेयर भने बढेको छ। प्रतिकित्ता २.८० रुपैयाँ बढेर अन्तिम मूल्य २२६.३० रुपैयाँ कायम भएको छ। बैंकको ८८ हजार १ सय १० कित्ता कारोबार भएको छ।

मर्जरको चर्चा चलेका कारण पनि सिभिल बैंकको सेयर बढिरहेको छ। पछिल्लो समय सञ्चालक समिति अध्यक्षको रुपमा प्रतापजंग पाण्डे भित्रिएपछि सिभिल बैंकले आन्तरिक सुधारका कामहरूले तीब्रता पाउनुको साथै व्यावसायिक आक्रमकता पनि बढाउँदै लगेको छ।

civil 112.PNG

नाफा कमाउने र लाभांश बढाउनुको साथै कुनै ठूलो बैंकसँग मर्जरमा पनि जाने देखिएकोले अहिले सेयर खरिद गर्नेहरुका लागि नाफा गर्ने उपयुक्त अवसरको रुपमा लगानीकर्ताले लिन थालेपछि सेयर मूल्य बढेको हो। 

सिभिल बैंकले ११औँ साधारणसभाबाट मर्ज वा एक्विजिसनमा जाने प्रस्ताव पारित गरिसकेको छ। जसका लागि सभाले सञ्चालक समितिलाई जिम्मा दिएपछि सञ्चालक समिति पनि यतिबेला सम्भावित मर्जमा जान सकिने बैंकको खोजीमा जुटेको छ। सिभिल बैंकको चर्चा विगतमा नबिल बैंकसँग पनि भएको थियो।

उक्त समयमा स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जको बाँकी प्रक्रिया रोकिएको थियो। अहिले राष्ट्र बैंकको नीति नै बैंक तथा वित्तीय संस्थाको मर्जमा जानेलाई सहज बनाउने भएकोले अहिले सबैजसो बैंकहरू मर्जर वा एक्विजिसनमा जाने तयारीमा जुटेका छन्।

त्यसमध्ये एक बैंक हो सिभिल। पछिल्लो समय व्यापार र नाफाका हिसाबले समेत आक्रामक सिभिल बैंक मर्जमा जाने भएपछि लगानीकर्ताको चासोमा परेको छ। पछिल्ले ५२ हप्तामा बैंकको सेयर मूल्य अधिकतम ३१६ रुपैयाँ थियो भने न्यूनतम २१६ रुपैयाँमा कारोबार भएको थियो। 

सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ। ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सेयर लगानीकर्ताले पाइसकेका छन्। 

सिभिलसँग कुन बैंक मर्जर वा एक्विजिसनमा जान्छ भन्ने चासो लगानीकर्तामा रहेको छ। सिभिल बैंकलाई मर्जर भाँडिएको हिमालयन बैंकको समेत प्रस्ताव आएको छ। सिभिलले निरन्तर अन्य बैंकसँग पनि छलफल गरिरहेको छ। सिभिलको हिमालयसँग मात्रै होइन एभरेष्ट बैंकदेखि एनबी बैंकसँग समेत छलफल भइरहेको छ। बैंकले चालु आर्थिक वर्ष भित्र नै उपयुक्त र सम्मानजन हैसियतमा मर्जमा जाने तयारी गरेको छ। 

सिभिल बैंकले नाफा कमाउने दरमा सबै बैंकलाई उछिनेको छ। सिभिल बैंकको नाफा ६ महिना अवधिमा गत वर्षको तुलनामा १४८.४२ प्रतिशले बढेको हो। यो नाफाको दर विवरण सार्वजनिक भएका २२ बैंकको भन्दा बढी हो। 

गत वर्षको ६ महिनमा २० करोड २८ लाख नाफा कमाएको बैंकले आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा ५० करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ। जुन नाफा गत वर्षको तुलनमा १४८.४२ प्रतिशतले बढी हो। बैंकले ६ महिनामा वितरण योग्य नाफा पनि सुधार गरेको छ।

बैंकले ६ महिनामा ९१ अर्ब ६९ करोड निक्षेप संकलन गर्दा ८३ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ११.६६ रुपैयाँ पुगेको छ।


प्रकाशित : बुधबार, फागुन १८ २०७८०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend