काठमाडौं- नेपालमा सञ्चालित क्यासिनोहरूले राष्ट्र बैंकको इजाजत नलिइ विदेशी मुद्राको कारोबार गर्न नपाउने भएका छन्। राष्ट्र बैंकले एक सूचना जारी गर्दै भारतीय मुद्रा कारोबार गर्नसमेत राष्ट्र बैंकको अनुमति लिन आग्रह गरेको छ।
नेपाल एफएटीएफको ग्रे लिस्टबाट बाहिर आउन प्रयासरत रहेकाले केन्द्रीय बैंकले क्यासिनोहरुलाई विदेशी मुद्रामा कडाइ गरेको हो।
यसअघि क्यासिनोमा जथाभावीरुपमा सम्पत्ति शुद्धीकरण गरिएको भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्रास्ट्रिय संस्था एफएटीएफले प्रश्न उठाउँदै आएको थियो।
गैरकानूनी ढंगबाट आर्जन गरिएको सम्पत्ति शुद्धीकरण हुन नदिनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था, सहकारी, रेमिट कम्पनी तथा मनी एक्सचेञ्जमाथि निगरानी बढाउँदै आएको छ। पछिल्लो समय क्यासिनोभित्र हुने विदेशी मुद्राको कारोबारलाई समेत राष्ट्र बैंकले नियमन गर्ने भएको हो।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान नै रहेको छ। सोही व्यवस्थाबमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृक्तिअनुसार विभिन्न विनियमावलीहरूसमेत जारी गरेको छ।
क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा 'नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७' को परिच्छेद-४ मा व्यवस्था गरिएको छ। उल्लिखित व्यवस्थाबमोजिम क्यासिनोलगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न भनिएको छ।