काठमाडौं- विश्व बजारमा सुनको मूल्यमा ऐतिहासिक उछाल आएको छ। कुनै एक देश वा अर्थतन्त्रले मात्र प्रभाव पार्न नसक्ने भएकाले पनि सुनको मूल्य स्वतन्त्र रुपको लगानीमा निर्भर हुने गरेको छ।
सन् २०२५ मा सुनको मूल्य ५४ प्रतिशतले वृद्धि भएको छ, जुन १९७९ यताकै सबैभन्दा ठूलो वार्षिक वृद्धि हो। पछिल्लो समय विश्व बजारमा सुनको मूल्य प्रतिऔँस ४ हजार अमेरिकी डलर नाघिसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य शुक्रबार भने घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेको हो। बिहिबार तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आज शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
विश्लेषक तथा लगानीकर्ताहरूले यसलाई सुनको मूल्य वृद्धिको सुरुवातमात्र भनेका छन्। सामान्यत: सुनको मूल्य अस्वाभाविक बढ्नुलाई अर्थतन्त्रका लागि राम्रो संकेतका रुपमा लिइँदैन। छोटो समयमा सुनको मूल्य उल्लेख्य बढ्नुलाई विश्वव्यापी आर्थिक अस्थिरता र चिन्ताको संकेतका रुपमा लिइँदै आएको छ।
बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ। युक्रेन र मध्यपूर्वमा भएका द्वन्द्वका साथै अमेरिका र चीनबीचको बढ्दो तनावले यस वर्ष विश्वभरका केन्द्रीय बैंकहरूले सुन खरिद बढाइरहेका छन्।
नेपाली बजारमा मूल्यले उच्च हुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि हो। अमेरिकी डलर सूचकांकमा उल्लेख्य गिरावट आएकाले अन्तर्राष्ट्रिय खरिदकर्ताहरूका लागि सुन सस्तो भएको छ, जसले विश्वव्यापी लगानीको माग बढाएको छ।
अमेरिकी फेड रेटमा भएको कटौती, बढ्दो भू-राजनीतिक जोखिम, चीनले व्यापक रुपमा गरिरहेको सुन खरिद, अर्थतन्त्रको अन्य क्षेत्रमा देखिएको अनिश्चितता जस्ता कराणले विश्व बजारमा सुनको मूल्य बढिरहेको छ।
साथै अमेरिकाले विश्वका विभिन्न देशका लागि बढाएको भन्सार शुल्क तथा जापानले कायम गरेको कम ब्याजदरलाई अमेरिकाले समर्थन गर्दा विश्व अर्थतन्त्रमा अन्योलता बढेको प्रक्षेपण विश्लेषकहरूले गरेका छन्।
पहिलेदेखि नै सुरक्षित लगानीका रुपमा मानिएको हुँदा यो बहुमूल्य धातुले लाभ उठाइरहेको छ। निरन्तर मुद्रास्फीतिको चिन्ता र अमेरिकामा रहेका राजनीतिक जोखिमहरूले यसको मूल्य वृद्धिलाई बढावा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
केन्द्रीय बैंकको सुन भण्डारबारे वर्ल्ड गोल्ड काउन्सिलको २०२५ को सर्वेक्षणअनुसार ९५ प्रतिशत केन्द्रीय बैंकरहरूले यस वर्ष विश्वव्यापी सुन भण्डारण बढ्ने अपेक्षा गरेका छन्। सुनको भाउ हालसम्मकै उच्च भए पनि यस वर्ष आफ्नो भण्डारण घट्ने अपेक्षा कुनै पनि बैंकले गरेका छैनन्।
यस वर्ष देखिएका विभिन्न नाटकीय परिवर्तनका कारण अमेरिकी डलरको मूल्यमा तीव्र गिरावट आएको छ। विदेशी मुद्राहरूको समूहको तुलनामा अमेरिकी डलरको मूल्य ट्र्याक गरेर हेर्दा उक्त सूचकांकमा सबैभन्दा बढी गिरावट गएको मार्चको सुरुदेखि जुलाईको पहिलो सातासम्म आएको थियो। उक्त समय व्यापारिक अनिश्चितता र विश्वव्यापी तनाव उच्च थियो। यसलाई पनि सुनको मूल्य बढ्ने कारणका रुपमा हेरिएको छ।
सुनको मूल्य बढ्ने कारणको रुपमा अमेरिकी मौद्रिक नीतिलाई पनि हेरिएको छ। फेडरल रिजर्भले यस वर्ष पहिलो पटक ब्याजदर घटाउन सुरु गरेको छ। ब्याजदर २०२५ को अन्त्यसम्ममा थप दुईपटक कटौती गर्ने घोषणा भएका छन्। यस्तो मौद्रिक नीतिले सामान्यत: डलरलाई कमजोर बनाउँछ र सुनको मूल्यलाई बढावा दिन्छ। सम्भावित आर्थिक मन्दी र मुद्रास्फीति एकैसाथ हुने चिन्ता बढिरहँदा त्यही परिदृश्यका कारणले त्यसबाट बच्नका लागि सुनको महत्त्व बढेको छ।
यो वर्ष सुनको मूल्य वृद्धिसँगैको अर्को अनौठो पक्ष के हो भने सेयर बजारमा पनि सँगै मूल्यमा उछाल आएको छ। विश्व सेयर बजार उचालिनुका पछाडि खासगरी आर्टिफिसियल इन्टेलिजेन्सको सम्भावना देखेर लगानीकर्ताहरू ठूला प्रविधि कम्पनीहरूको सेयर खरिदमा आकर्षित हुनुलाई मुख्य कारण मानिएको छ।
सुनमा विश्वव्यापी मागसमेत बढ्दो छ। छोटो समयमा भएको सुनको मूल्यको उच्च वृद्धिले विश्व अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्नेमा शंका व्यक्त भइरहेका छन्। लगानीकर्ताहरूले अमेरिकी डलरभन्दा सुनलाई सुरक्षित मान्न थालेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्लेषकहरूले आगामी वर्षको अन्त्यसम्ममा सुनको मूल्य ४ हजार ९ सय डलरसम्म पुग्ने अनुमान गरिरहेका छन्।