काठमाडौं- साताको अन्तिम कारोबारमा आज बिहीबार कारोबार सुरु भएको तीन मिनेटमा नै सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजारले अपेक्षाकृत उचाइ लिन भने सकेन।
पहिलो सर्किट ब्रेक लाग्दा १०२.४१ अंकले बढेर २६६२.०० बिन्दुमा पुगेको बजारले २० मिनेटको 'मार्केट हल्ट' पछि खुल्दा वृद्धितर्फकै संकेत गरेको थियो। तर त्यसपछिको कारोबार अपेक्षाकृत देखिएन।
बिहीबार बजार बन्द हुँदा २२.५९ अंकले बढेर २५८२.१९ बिन्दुमा पुगेको छ। २०० कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ।
यो साता ओरालोतिर देखिएको बजारमा बिहीबार अन्तिम दिनको कारोबारको सुरुवातमा उछाल देखिएको थियो। तर त्यही लय कायम हुन सकेन।
नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।
पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार अबेर सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जामा लगाइएको २५ करोड रुपैयाँको सीमा हटाएको छ।
यस्तै राष्ट्र बैंकले एकपटकमा २० प्रतिशतसम्म मात्रै सेयर खरिद बिक्री गर्ने व्यवस्था पनि हटाएको छ। अब बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनाभित्र शतप्रतिशत सेयर खरिद बिक्री गर्न सक्नेछन्। उक्त कदमले बजारमा सकारात्मक सन्देश गएर लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको छ।