काठमाडौं- दसैँ बिदापछिको पहिलो कारोबारमा सेयर बजार ओरालोतिर लागेको छ। दसैँ बिदाअघिको अन्तिम कारोबारमा गएको १२ गते आइतबार ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा उक्लिएको बजार अहिले घटेको हो।
आज मंगलबार ५८.५५ अंकले घटेर बजार २६०४.९६ बिन्दुमा झरेको छ। १६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। २३५ कम्पनीको सेयर मूल्य घटेको छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले आफ्नो गति समात्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।
पर्ख र हेरको सोचमा देखिएका लगानीकर्तामा बजारप्रतिको विश्वास फर्कँदै जाने विश्लेषकहरूले बताइरहेका छन्।