आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

भारतीय रिजर्व बैंकले गर्‍यो नीति संशोधन : अब नेपालीले पनि भारतीय बैंकबाट ऋण लिन पाउने

सोमबार, असोज २० २०८२
भारतीय रिजर्व बैंकले गर्‍यो नीति संशोधन : अब नेपालीले पनि भारतीय बैंकबाट ऋण लिन पाउने

आर्थिक विश्लेषकहरूका अनुसार आरबीआईको यो निर्णयले दुई देशबीचको व्यापारिक भुक्तानी प्रणालीमा नयाँ अवसर सिर्जना गर्नेछ।

काठमाडौं- अब नेपाली नागरिक र नेपालका बैंकहरूले पनि भारतीय बैंकहरूबाट ऋण लिन सक्ने भएका छन्। भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई) ले नयाँ नीति सार्वजनिक गर्दै भुटान, नेपाल र श्रीलंकाका बासिन्दा तथा यी देशका बैंकहरूलाई भारतीय रूपैयाँ (भारु) मा ऋण दिन भारतीय बैंकहरू र तिनका विदेशी शाखालाई अनुमति दिएको हो।

आरबीआईले यो कदम भारतीय रूपैयाँलाई अन्तर्राष्ट्रियरूपमा चलनचल्तीमा ल्याउने रणनीतिक प्रयासका रूपमा लिएको बताएको छ। यसबाट सीमापार व्यापार, लगानी र वित्तीय कारोबार अझ सहज हुने अपेक्षा गरिएको छ। आरबीआईले यससम्बन्धी नियम संशोधनको कार्यविधि छिट्टै सार्वजनिक गर्ने जनाएको छ। त्यसपछि कार्यान्यवनमा जानेछ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो निर्णय सीमापार भुक्तानीलाई भारतीय रूपैयाँ र स्थानीय मुद्रामा प्रोत्साहन दिने उद्देश्यले गरिएको हो। विदेशी मुद्राको कारोबार गर्न अनुमति पाएका बैंकहरूलाई यो सुविधा लागु हुनेछ। यस अन्तर्गत स्टेट बैंक अफ इन्डिया (एसबिआई), आईसीआईसीआई बैंक, एचडीएफसी बैंक र एक्सिस बैंक लगायतका ठूला बैंकहरूले नेपाली नागरिक तथा नेपालका बैंकहरूलाई पनि ऋण दिन सक्नेछन्।

नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई यस निर्णयले थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। नेपालको अन्तरराष्ट्रिय व्यापारमा भारतको हिस्सा लामो समयदेखि ६० प्रतिशतभन्दा बढी रहँदै आएको छ। अहिले पनि भारतसँगको व्यापारमा प्रायः भारतीय रूपैयाँ नै प्रयोग हुने गरेको छ, तर कतिपय आयात (विशेष गरी कच्चा पदार्थ र इन्धन) का भुक्तानी अमेरिकी डलरमा हुने गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट भारतमा २ खर्ब २४ अर्ब रूपैयाँ बराबरको निर्यात भएको थियो भने भारतबाट १० खर्ब ७१ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो। सो अवधिमा नेपालको कुल अन्तरराष्ट्रिय व्यापारमा भारतको हिस्सा ६२.३ प्रतिशत रहेको थियो।

आर्थिक विश्लेषकहरूका अनुसार आरबीआईको यो निर्णयले दुई देशबीचको व्यापारिक भुक्तानी प्रणालीमा नयाँ अवसर सिर्जना गर्नेछ। साथै, भारतीय रूपैयाँमा ऋण प्रवाह सम्भव भएपछि सीमापार लगानी, इन्फ्रास्ट्रक्चर फाइनान्सिङ र निजी क्षेत्रको व्यापारिक कारोबारमा नयाँ सम्भावना खुल्ने बताइएको छ।


प्रकाशित : सोमबार, असोज २० २०८२११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend