काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। उतारचढावबीच दसैँ बिदाअघिको अन्तिम कारोबार दिन आइतबार बजार ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा उक्लिएको छ।
१७० वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा २ अर्ब ९३ करोड ५९ लाख रूपैयाँको कारोबार भएको छ। आज ६९ वटा कम्पनीको सेयर मूल्य घट्दा १२ वटा कम्पनीको भने स्थिर रहेको छ।
पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण अघिल्लो साता मंगलबारदेखि बन्द रहेको सेयर कारोबार गतसाता बिहीबारदेखि खुलेको हो। गतसाता बिहीबार पहिरो गएको बजार १६०.३३ अंकले घटेर बजार २५११.९१ बिन्दुमा झरेको थियो।
अघिल्लो साता बिहीबार नकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजारमा गतसाता पहिलो कारोबारमा व्यापक हरियाली देखिएको थियो। सोमबार बन्द रहेको बजार मंगलबार पनि वृद्धितर्फ लागेको थियो। बुधबार र बिहीबार पुन: ओरालोतर्फ लागेको बजार यो साता भने उकालोतर्फ लागेको हो।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले आफ्नो गति समात्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।