बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

विद्युत प्राधिकरण टेलिकम मोडलमा जाने, चुक्ता पुँजीको २५ प्रतिशत आईपीओ जारी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १८ २०७८
विद्युत प्राधिकरण टेलिकम मोडलमा जाने, चुक्ता पुँजीको २५ प्रतिशत आईपीओ जारी गर्ने

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पनि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेर पब्लिक कम्पनीको मोडलमा जाने तयारी सुरु गरेको छ। 

कम्पनीले आईपीओ निष्कासन गरेमा नेपालको इतिहासमै सबैभन्दा ठूलो आईपीओ आउने छ। जसका लागि केही दिनअगाडि मात्रै प्राधिकरणले रेटिङ गराइसकेको छ। प्राधिकरणको दोस्रो वित्तीय पुनः संरचनामा आईपीओ जारी गर्ने योजना भएकोले सोही संरचना सुधारको काम प्राधिकरणले अगाडि बढाएको हो। 

नेपाल टेलिकमजस्तै सर्वसाधारणलाई समेत लगानीका लागि प्रेरित गर्ने योजनामा प्राधिकरण छ। त्यसो त प्राधिकरणले २०७४ सालमा नै वित्तीय पुनः संरचना योजना पारित गरेको थियो। सोही योजनाअनुसार २५ प्रतिशत सेयर आम सर्वसाधारणलाई बिक्री गर्न सकिने छ। 

प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनामा आम सर्वसाधारणले लगानी गर्न पाएका छन्। माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन, मध्यभोटेकोशी जस्ता आयोजनामा सर्वसाधारणको सेयर छ। प्राधिकरण पनि क्रमशः नाफामा जान थालेको र आम नागरिकको विश्वाससमेत बढ्दै गएकाले सेयर बिक्री गर्ने योजना अगाडि सारिएको हो।

प्राधिकरणले विद्युत उत्पादन, व्यापारको साथै वितरणको काम समेत गर्दै आएको छ। प्राधिकरणले ऋण लिने सम्बन्धमा गरेको रेटिङमा इक्रा नेपालले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ दिएको छ। डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ।

इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्वलगायतको विश्लेषण गरेको थियो। रेटिङमा प्राधिकरणलाई ११ सय मेगावाट सम्म  विजुली उत्पादनको क्षमता भएको समेत उल्लेख गरको छ। 

६ महिनामै १२ अर्ब नाफा कमाउने प्राधिकरण  

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो।

चालु आवको पहिलो ६ महिनामा नै नाफा  बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यो सँगै सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ। आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ। गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, भारतर्फ विद्युत निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत आयातमा कमी, विद्युत बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए। 

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ। भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिदमा हुने गरेको छ। 

प्राधिकरणको विदेशी दातृ निकायहरूको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ। प्राधिकरणको पुँजीकृत सम्पत्ति १ खर्ब ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्व ५२ अर्ब, सहायक कम्पनीहरूमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रहेको छ। तरल पुँजी ८५ अर्ब १ करोड रहेको छ।

आघिल्लो वर्षहरूको तुलनामा चालु आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत भारतर्फ निर्यात बढेको छ भने अपुग विद्युतको आयातको परिमाण घटेको छ।

गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत भारत निर्यात भएकोमा चालु आवको ६ महिनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत निर्यात गरिएको छ। ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ।


प्रकाशित : बुधबार, फागुन १८ २०७८०१:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend