काठमाडौं- नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताले एक दिनमा रकम जम्मा गर्न पाउने संख्या अस्थायी रूपमा वृद्धि गरेको छ।
राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअन्तर्गत हालसम्म एक दिनमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्थालाई चाडपर्व लक्षित गरी ४० पटकसम्म गर्न मिल्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई परिपत्र जारी गर्दै असोज १३ गतेदेखि असोज २१ गतेसम्म दसैँका अवसरमा र कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म दिपावली तथा छठ पर्वका अवसरमा उक्त सुविधा लागु हुने जनाएको छ।
नयाँ व्यवस्थाअनुसार तोकिएको अवधिमा प्रयोगकर्ताले आफ्नो डिजिटल वालेटमा दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्। राष्ट्र बैंकले सो अवधिमा भएको जम्मा कारोबारको संख्या र कुल रकमको विवरण अनिवार्य रूपमा बैंकलाई जानकारी गराउनसमेत सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।
यसअघि दैनिक जम्मा गर्ने सीमा १० पटक मात्र रहेकाले, विशेष गरी चाडपर्वमा हुने बढ्दो कारोबारलाई सहज बनाउन यस्तो अस्थायी सुविधा गरिएको राष्ट्र बैंकले जनाएको छ।