काठमाडौं- लगातार दुई दिनमा १७४.६४ अंकले बढेर हिजो बुधबारको कारोबारमा २७.८८ अंकले घटेको सेयर बजार साताको अन्तिम कारोबारमा बिहीबार सामान्य घटेको छ।
बिहीबार २.३६ अंकले घटेर बजार २६५२.०० बिन्दुमा झरेको छ। १०७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ। १३९ कम्पनीको सेयर मूल्य घटेको छ।
यो साता आइतबार ११६.०१ अंकले बढेको बजार मंगलबार ५८.६३ अंकले बढेको थियो। गएको साता बिहीबार नकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार यो साता सुधारतर्फ बढिरहँदा बुधबार ब्रेक लागेको थियो।
पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण अघिल्लो साता मंगलबारदेखि बन्द रहेको सेयर कारोबार गतसाता बिहीबारदेखि खुलेको हो। गतसाता बिहीबार पहिरो गएको बजार १६०.३३ अंकले घटेर बजार २५११.९१ बिन्दुमा झरेको थियो।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले आफ्नो गति समात्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।