काठमाडौं- पछिल्लो दुई दिनमा १७४.६४ अंकले बढेको सेयर बजार आज बुधबारको कारोबारमा घटेको छ।
यो साता आइतबार ११६.०१ अंकले बढेको बजारमा मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा पुगेको थियो। गएको साता बिहीबार नकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार यो साता सुधारतर्फ बढिरहँदा बुधबार ब्रेक लागेको छ।
बुधबार २७.८८ अंकले घटेर २६५४.३६ बिन्दुमा झरेको छ। ५३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। १९३ कम्पनीको सेयर मूल्य घटेको छ।
पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण अघिल्लो साता मंगलबारदेखि बन्द रहेको सेयर कारोबार गतसाता बिहीबारदेखि खुलेको हो। गतसाता बिहीबार पहिरो गएको बजार १६०.३३ अंकले घटेर बजार २५११.९१ बिन्दुमा झरेको थियो।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले आफ्नो गति समात्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।