आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

विनिमयको सुविधाजनक पोजिसनमा बस्दा गुम्दैछ प्रतिस्पर्धी क्षमता, आँटिलो राजनीतिक नेतृत्वको प्रतीक्षा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १३ २०८२
विनिमयको सुविधाजनक पोजिसनमा बस्दा गुम्दैछ प्रतिस्पर्धी क्षमता, आँटिलो राजनीतिक नेतृत्वको प्रतीक्षा

हेरफेरका लागि आँटिलो राजनीतिक नेतृत्वको आवश्यकता भने देखिएको छ। एकातिर विनिमय दर चलाउने अर्कोतिर मूल्यवृद्धिको धक्का सहनसक्ने खालको क्षमता विकास गर्ने व्यवस्था पनि बनाउनसक्ने राजनीतिक नेतृत्व आवश्यक देखिएको छ।

काठमाडौं- भारुसँगको स्थिर विनिमय दर लागु भएर तीन दशकदेखि एउटै दर छ। तर आजभन्दा तीस वर्ष पहिलेको भारत र नेपाली अर्थतन्त्रको तुलना जसरी हुन्थ्यो आज त्यो धरातल छैन। 

भारतीय अर्थतन्त्रको क्षमताको विकास यो बीचमा जसरी भयो त्यही दरमा नेपालमा भएको छैन। मूल्यवृद्धि लगायतका अन्य कारणले गर्दा नेपाली मुद्राको वास्तविक विनिमय दर अधिमूल्यण भएको भन्दै दर हेरफेर गर्नुपर्ने सुझाव आइरहेको छ। पछिल्लो समय विश्व बैंककले नेपाली मुद्राको वास्ताविक विनिमयदरमा अधिमूल्यण भएको भन्दै अवमूल्यण गर्नुपर्ने राय दिँदै आएको छ। 

सन् १९९१ देखि भारुसँगको विनियदर १ भारु बराबर १.६ रुपैयाँ निरन्तर कायम रहेको छ। तर मुख्य व्यापारिक साझेदार भारतको तुलनामा नेपालको मुद्रास्फ्रिति पछिल्लो समय उच्च हुँदै गएकाले वास्तविक प्रभावकारी विनिमय दरमा नेपाली रुपैयाँको अधिमूल्यन भएको छ। त्यस्तै नोमिनल प्रभावकारी विनिमय दर भने घटिरहेको छ। 

दैनिक रुपमा व्यवाहर हेर्दा डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भइरहेको भएपनि वास्तविक रुपमा भारतीय रुपैयाँको तुलनामा भने वास्तविक दर बढिरहेको छ। मुद्रा अधिमूल्यन हुँदा मुलुकको समग्र प्रतिस्पर्धा क्षमता खस्किँदै गएको दातृ निकायले लविङ गर्न थालेका छन्। 

सन् २०२३ को अक्टोबरमा विश्व बैंकले प्रकाशित गरेको एक प्रतिवेदनमा नेपाली मुद्राको रियल इफेक्टिभ एक्सचेञ्ज रेट उच्च हुँदै गएको र यसले नेपालको निर्यात क्षमतालाई संकुचित पारेको उल्लेख गरिएको थियो। विश्व बैंकले प्रतिवेदन नै प्रकाशन गरेर विनिमय दरका बारेमा प्रष्ट पारिसकेको छ। अन्य उच्चस्तरीय छलफलमा पनि विश्व बैंकका अधिकारीहरूले यो विषय उठाउने गरेका छन्।

लामो समयदेखि नेपाली अर्थतन्त्र ‘अन्डरपर्फर्मर’ का रुपमा रहेको छ। क्षमताअनुसार उत्पादन र निर्यातमा नेपाल चुकिरहेको दातृ निकायहरूले औल्याउँदै आएका छन्। नेपाली अर्थतन्त्र ‘अन्डरपर्फर्मर’ हुनुका पछाडि विविध कारण रहेका छन्। शासकीय प्रदर्शनदेखि वातावरणसम्मका कुरा रहेका छन्। विशेषगरि विश्व बजारमा प्रतिस्पर्धी हुन नसक्नुका पछाडि श्रमको न्यून उत्पादकत्व, ऊर्जाशील श्रमिकको पलायन र द्विपक्षीय विनिमय दर र मूल्यवृद्धिलाई मुख्य कारकका रुपमा व्याख्या गरिएको छ। 

नेपाली अर्थतन्त्र श्रमको न्यून उत्पादकत्वबाट पीडित भइरहेको छ। नेपालजस्तै संरचना भएका र उस्तै प्रकृतिका देशसँग गरिएको तुलनामा सबैभन्दा कमजोरमात्र होइन अझ कतिपय क्षेत्रमा उत्पादकत्व घटेको छ।

भूपरिवेष्ठित, उच्च रेमिट्यान्स क्षेत्रीय साझेदार मुलुकसँगको तुलनामा नेपालको श्रम सबैभन्दा कमजोर देखिएको छ। प्रतिश्रमिक उत्पादनमा नेपाल कमजोर रहेको छ। विशेषगरी उद्योग र कृषि क्षेत्रमा नेपालको श्रम कुनै पनि देशको भन्दा कमजोर रहेको छ। यसरी तुलना गरिएका मुलुकको तुलनामा नेपालको औद्योगिक श्रमिकले एक तिहाइमात्र उत्पादन गरिरहेका छन्। 

सन् १९९६ देखि २००६ सम्म यस्ता देशसँगको तुलनामा नेपालको श्रमको उत्पादकत्व ग्याप धेरै थिएन जुन पछिल्ला दुई दशकमा खाडल गहिरिएको छ। बांगलादेश, लाओस, बोलिभिया, क्यर्ज रिपब्लिक, होन्डुरस र एलसाल्भोडारसँग तुलना  गरिएको छ। तुलना गरिएकामध्ये नेपाल र होन्डुरसको उद्योगको उत्वादकत्व ऋणात्मक भएको छ। सन् १९९६ देखि २०१९ सम्मको तथ्यांक तुलना गर्दा यी दुई मुलुकका उद्योगको उत्पादकत्व ऋणात्मक भएको छ। नेपालको उद्योग क्षेत्रमा प्रति श्रमिक उत्पादन सन् २००७ दखि २०१४ सम्म खस्किएको थियो। 

नेपालको निर्यात खस्किनुका पछाडि अर्को कारण विनिमय दरलाई मानिएको छ। नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमय दर रहेको छ। १ भारु बराबर १.६ नेरु रहेको छ। स्थिर विनिमय दर लागु भएको ३१ वर्ष पुगिसकेको छ। 

३१ वर्षदेखि एउटै विनिमय दर रहेको र सुरुका २० वर्ष वार्षिक औसत मूल्यवृद्धि भारतको तुलनामा नेपालमा ०.१ प्रतिशत न्यून थियो। तर सन् २०१५ पछि भने नेपालको मूल्यवृद्धि १.१ प्रतिशत उच्च रहेको छ। 

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ वर्तमान मूल्यमा अवमूल्यन भए पनि स्थिर मूल्यमा अधिमूल्यन भइरहेको विश्व बैंकको तथ्यांकले देखाएको छ। 

१० प्रतिशतले मुद्राको स्थिर मूल्यमा अधिमूल्यन हुँदा निर्यात ४ प्रतिशतभन्दा धेरैले घट्न जाने विश्व बैंको अनुमान रहेको छ। नेपाली मुद्राको स्थिर मूल्यमा अधिमूल्यन भइरहेको र यसले पनि निर्यात प्रभावित भएको हुनसक्ने विश्लेषण बैंकको छ। 

नेपाली मुद्राको विनिमय दरमा अनौठो रेखा देखा परेको छ। ‍विनिमयको चालु मूल्य घट्दा स्थिर मूल्य पनि घट्नुपर्ने हो तर चालु मूल्य घट्ने तर स्थिर मूल्य बढ्दै गएको देखिएको छ। सन् २००० मा यी दुबै मूल्य १०० को हाराहरीमा हुँदा पछिल्लो समय चालु मूल्यमा ८० मा झरेको छ भने स्थिर मूल्यमा १३० पुगेको छ। यसका पछाडि रेमिट्यान्सको बलियो आप्रवाह र भारतको तुलनामा नेपालमा उच्च मूल्यवृद्धिलाई कारक मानिएको छ। 

विनिमय दरमा हेरफेर गर्नुपर्ने बहस यसअघि पनि नेपालमा नउठेको होइन। तर नेपाली मुद्राको अवमूल्यन गराउँदा आयात महँगो हुने र त्यसले मूल्यवृद्धि बढाउने जोखिम पनि उत्तिकै छ। तर नेपाली मुद्राको बलियोपनले गर्दा विश्व बजारमा प्रतिस्पर्धी हुनबाट रोकिरहेको कतिपयको धारणा छ। न्यून श्रमको उत्पादकत्व, स्थिर मूल्यमा मुद्राको अधिमूल्यनका कारणले नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धी हुन नसकेको दर परिवर्तन हुनुपर्ने पक्षकाहरूको धारणा रहेको छ। 

विदेशको बजारमा गुणस्तर तथा मूल्यमा प्रतिस्पर्धा गर्न नेपाली उत्पादकलाई कठिन भइरहेको र यो नहुँदासम्म विदेशी लगानी पनि ल्याउन कठिन हुने देखिएको छ। तर विनिमयदर अहिलेको अवस्थामा परिवर्तन गर्न नहुने पक्षमा नेपालमा बलियो मत रहेको छ। विशेषगरी शासकीय सुधार गरी उत्पादन नबढाउँदासम्म आयातमा थपिने भारले मुलुकमा ल्याउनसक्ने हाइपर इन्फ्लेसनलाई थेग्न अर्थतन्त्र अहिलेको अवस्थामा सक्षम नहुने उनीहरूको तर्क छ।

यो हेरफेरका लागि आँटिलो राजनीतिक नेतृत्वको आवश्यकता भने देखिएको छ। एकातिर विनिमय दर चलाउने अर्कोतिर मूल्यवृद्धिको धक्का सहनसक्ने खालको क्षमता विकास गर्ने व्यवस्था पनि बनाउनसक्ने राजनीतिक नेतृत्व आवश्यक देखिएको छ। 


प्रकाशित : सोमबार, असोज १३ २०८२१६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend