आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सुधारका विभिन्न प्रयास भइरहँदा उचाइतर्फ लागिरहेको छ सेयर बजार

दुई दिनमा १७४ अंकले बढ्यो

मंगलबार, असोज ७ २०८२
सुधारका विभिन्न प्रयास भइरहँदा उचाइतर्फ लागिरहेको छ सेयर बजार

काठमाडौं- यो साता आइतबार ११६.०१ अंकले बढेर बजार २६२७.९३ बिन्दुमा पुगेको बजारमा मंगलबार पनि हरियाली देखिएको छ। 

सोमबार बन्द रहेको बजार मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा पुगेको छ। २३८ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। १४ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता बिहीबार नकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजारमा यो साता पहिलो कारोबारमा व्यापक हरियाली देखिएको थियो। सरकारले पुँजीबजार सुधारका लागि प्रयास गर्न थालेसँगै लगानीकर्ता केही विश्वस्त देखिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजार सुधारलाई पहिलो प्राथमिकता दिँदै विभिन्न पहल थालेका छन्।

पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण अघिल्लो साता मंगलबारदेखि बन्द रहेको सेयर कारोबार गतसाता बिहीबारदेखि खुलेको हो। बिहीबार कारोबार सुरु हुनासाथ ओरालोतिर लागेको बजार दुई मिनेटमा नै चार प्रतिशतले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि पनि दोस्रो र तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो।

गतसाता बिहीबार पहिरो गएको बजार १६०.३३ अंकले घटेर बजार २५११.९१ बिन्दुमा झरेको थियो। जहाँ जम्माजम्मी पाँच मिनेटमात्र बजार चल्दा ७२ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। यो साता भने दुई कारोबार नै व्यापक हरियालीमा देखिएको छ। 

नेपाल धितोपत्र बोर्डले नेप्से सूचकांकको अन्तिम मूल्य गणनाका लागि लागु गरिएको १५ मिनेटको भारित औसत मूल्य निर्धारण विधिलाई गएको आइतबारदेखि स्थगनसमेत गरेको छ। भारित औसत मूल्य निर्धारण हुँदा बजारको प्राकृतिक घटबढमा असर परिरहेको भन्दै त्यसको विरोध भइरहेको थियो। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।

नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले आफ्नो गति समात्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ। 

सरकारले पुँजी बजारको मनोबल बढाउनका लागि गर्नुपर्ने निर्णयका बारेमा सुझाव दिन कार्यदलसमेत गठन गरेको छ। धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा अर्थ मन्त्रालयले ४ सदस्यीय कार्यदल बनाएको हो। कार्यदलले पुँजी बजारको मनोबल बढाउन तथा प्रणालीगत सहजीकरणका लागि के कस्तो काम गर्न सकिन्छ भन्ने सुझाव दिनेछ। 


प्रकाशित : मंगलबार, असोज ७ २०८२१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend