काठमाडौं- जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबर बीमा दाबी पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।
बागमती प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। कुल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ।
माइक्रो इन्स्योरेन्स कम्पनीसहित कुल १८ वटा बीमा कम्पनीमा दुई हजार ४ सय ७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए। प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ।
ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ। प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दाबीको आवेदन परेको छ। यस्तै सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब आठ करोड २८ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ।
सम्पत्ति बीमाको पाँच सय ३८, मोटर बीमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बीमा ११ र अन्यमा १९ वटा आवेदन प्राप्त भएका छन्।
प्रदेशगत आधारमा कोशी तीन सय २२, मधेश दुई सय ४६, बागमती एक हजार ३४३, गण्डकी एक सय ८४, लुम्बिनी दुई सय दुई, कर्णाली २२ र सुदूरपश्चिम प्रदेश एक सय ५९ वटा बीमा दाबी परेका प्राधिकरणले जनाएको छ। रासस