बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

अगस्टमा १ हजार १३ वटा कार आयात, कुन ब्रान्डको कति?

सोमबार, असोज ६ २०८२
अगस्टमा १ हजार १३ वटा कार आयात, कुन ब्रान्डको कति?

नाइमा मोबिलिटी एक्सपो र नाडा अटो शोले सृजना गरेको सवारी बिक्रीको माहोललाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले केही बिथालेको छ।

काठमाडौं- जेठ १५ मा बजेट आउनुअघि उल्लेख्य संख्यामा विद्युतीय कार आयात भएपछि त्यसपछिका दुई महिनामा कार आयात कम भएकोमा अहिले केही वृद्धि भएको छ। गएको जुन र जुलाईमा कम भएको विद्युतीय कारसहित सबै कार आयात अगस्टमा बढ्न थालेको तथ्यांक छ। 

२०२५ जुन र जुलाई महिनामा विद्युतीय कारको आयात निकै कम थियो भने अगस्टमा बढेको छ। गएको जुनमा जम्मा (आईसीई र ईभी) ३ सय २५ वटा कार र जुलाईमा ४ सय ४२ वटा कार आयात भएको थियो। 

बजेटपछिका यी दुई महिनामा कार आयात न्यून भएपनि त्यसपछिको अगस्ट महिनामा १ हजार १३ वटा कार आयात भएको भन्सारको तथ्यांक छ। बजेटअघि आयात भएका कारको स्टक कम हुँदै गएको र दसैँलक्षित कार आयात हुन थालेकाले अगस्टमा कार आयात बढेको हो। 

नाइमा मोबिलिटी एक्सपो र नाडा अटो शोले सृजना गरेको सवारी बिक्रीको माहोललाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले केही बिथोलेको छ। थापाथलीमा रहेका पाँचवटा ब्रान्डका शोरुममा आगजनी तथा तोडफोड भयो भने देशभरका केही शोरुममा पनि क्षति पुगेको छ। सरकारीदेखि व्यवसायिक प्रतिष्ठानमा क्षती पुगेका कारण खरिद माहोल केही खलबलिएको छ। तर पनि अटोमोबाइल व्यवसायीहरुले सवारी बिक्री माहोललाई सहज बनाउन प्रयास थालिसकेका छन्।

चीनबाट आयात हुने सवारी रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध बनेकाले मुस्ताङको कोरला नाकाबाट सवारी आयात थालिसकेका छन्। यही असोज ४ गतेसम्म उक्त नाकाबाट २ सय ९ वटा विद्युतीय कार आयात भइसकेको छ।  

जेठ १५ मा आएको चालु आर्थिक वर्ष २०८२/८३ बजेटमा विद्युतीय कारको कर वृद्धि हुने हल्लाका कारण सबै विद्युतीय कार आयातकर्ताहरुले ठूलो संख्यामा कार आयात गरे। तर बजेटले गत आर्थिक वर्षकै कर कायम हुने नीति लियो। यसले पनि कार आयातमा केही कमी आएकोमा अब भने बढ्दोक्रममा देखिएको छ। 

अगस्ट महिनामा १ हजार १३ वटा कार आयात भएकोमा विद्युतीयभन्दा आईसी इन्जिन कार नै धेरै छन्। यो महिना सबैभन्दा धेरै कार महिन्द्राको आयात भएको छ। महिन्द्राको स्कर्पियो, बोलेरो, पिकअपलगायत सबै गरेर ३ सय २३ वटा कार आयात भएको तथ्यांक छ। 

महिन्द्रापछि अगस्टमा धेरै कार आयात गर्ने अर्को ब्रान्ड हो टाटा। सो महिना टाटाका १ सय १२ वटा कार आयात भएका छन्। आयात भएकामध्ये टाटाका सबैजसो विद्युतीय कार नै हुन्। 

अगस्टमा कियाले १ सय ७ वटा कार आयात गरेको छ। यसमा केही ईभी भएपनि अधिकांश आईसी इन्जिन कार नै आयात भएका छन्। कियापछि सुजुकीका कार धेरै आयात भएका छन्। अगस्टमा सुजुकीको १ सय ३ वटा कार आयात भएका छन्। सुजुकीको सबै आईसी इन्जिन कार आयात भएका हुन्।

२०२५ अगस्टमा हुन्डाईका ३५ वटा कार आयात भएका छन्। यसमा केही हुन्डाई क्रेटा ईभी पनि छन्। यो संख्यामा हुन्डाईको नेपालमै एसेम्बल हुनेगरी आयात भएका भेन्यू र क्रेटाको संख्या समावेश गरिएको छैन। एसेम्बल गर्न आयात गरिएको र तयारी कारसमेत जोड्ने हो भने हुन्डाईको संख्या निकै बढी हुन्छ। 

यी हुन् अगस्टमा आयात भएका कार ब्रान्ड र संख्या :  

महिन्द्रा- ३२३

टाटा- ११२

किया- १०७

सुजुकी- १०३

बीवाईडी- ९८

टोयोटा- ३४

हुन्डाई- ३४(एसेम्बल बाहेक)

दिपल- ३३

निसान- ३०

सिट्रोन- २३

जेएमईभी- २२

ओमोडा- १९

जीली- १०

एमजी- ९

फक्सवागन- ७

मित्सुबिसी- ७

भोल्टस्- ५

स्कोडा- ५

फोरथिङ- ५

फोर्ड- ५

नामी- ५

होन्डा- ४ 

टेस्ला- ३

इसुजु- ३

माज्दा- २

एलएस अटो- १

जुनियो- १

जिप- १

आईकार- १

बीएमडब्लू- १


प्रकाशित : सोमबार, असोज ६ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend