काठमाडौं- एउटा सुन्दर गुम्बा छ। छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन्। कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यानभासमा सजाएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो।
चितवनको भरतपुरस्थित घरनजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजान्थिन्। उनको मानसपटकमा त्यो गुम्बा रहिरह्यो। जहिले पनि त्यहाँ पुग्दा उनलाई शान्ति मिल्थ्यो। त्यो बाल्यकालको छाप काठमाडौं आउँदा पनि मेटिएन। गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रंगले क्यानभासमा उतारेर राखिन्। एक वर्षअघि बनाएको चित्र अहिले उनको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ।
प्रदर्शनीको अर्काे आकर्षण हो, बौद्धमा रहेको गुम्बा। कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उनले सँगालेकी थिइन्। त्यसमध्येको केही तस्बिरलाई उहाँले क्यानभासमा तेल रंगमार्फत उतारेकी छिन्। जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन्। बाँकी सुन्दर प्रकृति अनि फाँटहरू। अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यानभासमा मात्रै सीमित छ। उनले त्यही पुरानो यादलाई क्यानभासमार्फत जीवन्तता दिन खोजेकी छिन्।
त्यही बौद्धको पुरानो सम्झनालाई उनले क्यानभासमा भरेर प्रदर्शन गरेकी छिन्। फरकफरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उनले क्यानभासमा उतारेकी छिन्। उनलाई बौद्धले सबै तानिरहने सुनाइन्। चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उनले देखाएकी छिन्। आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन्।
यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहेकी छिन्। अझै आठ दिन यहाँ उनको कला हेर्न सकिन्छ। उनी भन्छिन्, 'मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु।'
उनले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गरेकी छिन्। बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतारेकी छिन्। जुनबेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उनले विषय बनाएर फरकफरक कोणबाट क्यानभास सजाएकी छिन्।
'म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ, त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरू मेरा विषय बनिदिन्छन्', उनी थप्छिन्। वनजंगल, खोला पुलपुलेसा, भिरपाखा, पखेरा, तालतलैया, आकाश, बादल, चराचुरुंगी, जीवजन्तु र डाँडाकाँडा उहाँको सृजनाका रुचिका विषय हुन्। त्यही प्राकृतिक सुन्दरतामा उहाँको कुची चलेको छ। प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ। उहाँको मुख्य रुचि तेल रंगलाई खेलाउनु हो।
'प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ', आना भन्छिन्, 'मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु। रंगमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस्।'
आनाले कला पढेकी होइनन्, आफै घरमा बनाउँदाबनाउँदै सिकेकी हुन्। पाँच वर्षदेखि कला साधनामा उनी सक्रिय छिन्। अन्य कलाकारका भन्दा उनका सृजना कमजोर लाग्दैनन्। उनी आफ्नै शैलीका सृजना गर्छिन्। परम्परागत कलामा पनि उनलाई रुचि छ। थांकामा पनि चाहना छ।
कहिलेकाहीँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलीले रंग भर्छिन्। यहाँ हेर्न आएका कला पारखीहरू कलामा उच्च शिक्षा गरेमा अझै निखारता आउने सुझाव उनलाई दिन्छन्।
जेनजी पुस्ताबाट केही महिना नाघेकी आना भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुगिन्। भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर गएकी आनाको उक्त क्यानभासमा सयौँ युवाले हस्ताक्षर गरेर उनको अभियानमा समर्थन जनाए। त्यही क्यानभासलाई पनि उनले यहाँको प्रदर्शनीमा राखेकी छिन्।
अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सृजना हेरेर पनि धेरै सिकिरहेको सुनाउँछिन्। आधा समय कला सृजना गरेर बिताउने र आधा समय प्रकृति र फूलसँग खेल्ने रुचाउने उनलाई सहरबजारभन्दा गामीण परिवेशप्रति रुचि छ। त्यसैले उनको सृजनामा पनि ग्रामीण दृश्यहरू देख्न पाइन्छ। काठमाडौंमा मन्दिर गुम्बाहरूमा उनी घुम्न जान्छिन्। त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाइन्।
अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उनको एकल कला प्रदर्शनी भइरहेको छ। चार वर्षदेखि बनाएका १५ कलालाई उनले प्रदर्शनीमा राखेकी छिन्।
आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्दले उनले यहाँ प्रकृतिलाई सुन्दर ढंगले प्रस्तुत गरेको बताइन्। कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो।