काठमाडौं- नेप्से सूचकांक गणनाका लागि लागु गरिएको अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्य अर्थात् अन्तिम मूल्य गणना विधि हटाउने तयारी भएको छ।
गत चैत ७ गतेदेखि धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१ अनुसार यो विधि लागु गरिएको थियो। तर बजारमा आएको लगातार गिरावटको प्रमुख कारण यही व्यवस्था भएको गुनासो बढेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यसलाई हटाउने तयारी गरेको हो।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले १५ मिनेट अवधि तोकेर भारित औसत मूल्यलाई अन्तिम मूल्य ठहर गर्ने प्रावधान हटाउने प्रस्ताव सेबोनमा पठाएका छन्। नेप्सेको सञ्चालक समितिले प्रस्ताव पारित गरेर पठाएपछि सेबोनले आज बैठक बोलाएको हो।
सेबोन र नेप्साले यसअघि खराब वित्तीय अवस्था भएका कम्पनीको मूल्य अन्तिम समयमा कृत्रिमरूपमा बढ्ने प्रवृत्ति नियन्त्रण गर्न १५ मिनेटको कारोबारलाई आधार मानेर औसत मूल्य निर्धारण गर्ने व्यवस्था गरेका थिए। उक्त नियमअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्यलाई क्लोजिङ प्राइस मानिने गरिन्थ्यो।
तर, जेनजी आन्दोलनपछि लगातार ६ दिन बन्द भएर असोज २ गते खुलेको बजार तीन पटकसम्म नकारात्मक सर्किट लागेर बन्द भएको थियो। बजारमा १६० अंकसम्मको पहिरो गएपछि लगानीकर्ताले यही प्रावधान हटाउन माग गर्दै बिहीवार सेबोनसमक्ष धर्नासमेत दिएका थिए।
लगानीकर्ताको दबाब र अर्थमन्त्रीको निर्देशनबीच बोर्डले आजै निर्णय गरे आइतबारदेखि नै यो नियम हट्न सक्ने बताइएको छ।