काठमाडौं- सेयर बजारमा बिहीबार तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेर आजका लागि कारोबार बन्द भएको छ।
कारोबार सुरु हुनासाथ ओरालोतिर लागेको बजार दुई मिनेटमा नै चार प्रतिशतले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि २० मिनेट रोकिएर खुलेको बजार लगत्तै एक मिनेटमै पाँच प्रतिशतले घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो।
दोस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि रोकिएर खुलेको बजार ६ प्रतिशतले घटेर तेस्रो सर्किट ब्रेक लाग्यो। त्यससँगै आजका लागि कारोबार बन्द भएको हो।
सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, त्यसपछि ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।
बिहीबार पहिरो गएको बजार १६०.३३ अंकले घटेर बजार २५११.९१ बिन्दुमा झरेको छ। जम्माजम्मी पाँच मिनेटमात्र कारोबार हुन सकेको बजारमा ७२ करोड रुपैयाँको कारोबार भएको छ।
पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण गएको साता मंगलबारदेखि बन्द रहेको सेयर कारोबार आज बिहीबारदेखि खुलेको हो।