आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बिहीबार ९० अर्ब निक्षेप खिच्दै

बिहीबार , असोज २ २०८२
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बिहीबार ९० अर्ब निक्षेप खिच्दै

काठमाडौं- नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेकाले बिहीबार ९० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। निक्षेप संकलन उपकरणको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम खिच्ने भएको छ।

हाल वित्तीय प्रणालीमा कुल निक्षेप ७२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले अधिक तरलता र बजार ब्याजदरको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोलाएको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल्ने रकम प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकका अनुसार आजको निक्षेप संकलन अनलाइन खरिद प्रणालीमार्फत बोलकबोलको माध्यमबाट हुनेछ र ब्याजदर पनि त्यही प्रक्रियाबाट निर्धारण हुनेछ। संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी असोज १२ गते हुनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम रकम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न आवश्यक परेमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पटकपटक निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ।


प्रकाशित : बिहीबार , असोज २ २०८२११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend