बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

ग्रीन भेन्चर्सको आईपीओ आवेदनको म्याद थप

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
ग्रीन भेन्चर्सको आईपीओ आवेदनको म्याद थप

काठमाडौं‌- ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण सेयरको बिक्री खुला अवधि थप गरेको छ। अब आयोजनाबाट पीडित बासिन्दाले यही फागुन २३ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यमा ३१ करोड २५ लाख रूपैयाँ मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्थानीयवासीका लागि बिक्री खुला गरेको थियो। ओखलढुङ्गा र रामेछाप जिल्लामा रहेको आयोजना आसपासका बासिन्दाले फागुन १६ सम्म आवेदन दिनुपर्ने अन्तिम म्याद तोकिएकामा सो अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएका कारण आवेदनको समय फागुन २३ सम्म थप गरिएको कम्पनीले जनाएको छ।

आह्वान पत्रानुसार कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब १२ करोड ५० लाख रूपैयाँको १० प्रतिशतका दरले १०० रूपैयाँ अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा १, २ र ३ तथा लिखु गाउँपालिका-९ र रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका-१, २ तथा उमाकुण्ड गाउँपालिका-७ का आयोजनाबाट पीडित बासिन्दाबाट सेयर खरिद गर्न दर्खास्त आह्वान गरेको थियो।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नं ७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु-४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब आठ करोड हुने जनाएको छ।

आयोजनाबाट पीडितक्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि दर्खास्त दिन पाउने छन्। स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

यसका साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा शाखा तथा आयोजनास्थलबाट पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार केयर रेटिङ कम्पनीले ग्रीन भेन्चर्सलाइ ‘केयरनपी-आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको थियो । रेटिङअनुसार कम्पनीको अवस्था र दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको हुन्छ। रासस


प्रकाशित : सोमबार, फागुन १६ २०७८०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend