काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) को तथ्यांकअनुसार नेपालको चालु खाता र शोधनान्तर दुवै स्थिति सकारात्मक देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३३ अर्ब ८ करोड रुपैयाँ मात्र थियो। अमेरिकी डलरमा हेर्दा चालु खाता ५६ करोड डलरले बचतमा रहेको छ। जुन अघिल्लो वर्षको २५ करोड डलरसँग तुलना गर्दा दुइगुणा भन्दा बढी हो।
त्यसैगरी शोधनान्तर स्थिति पनि उल्लेखनीय रुपमा सुधार भएको छ। साउन मसान्तसम्म शोधनान्तर ८९ अर्ब ३० रुपैयाँ करोडले बचतमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर र ४० अर्ब ९० करोड रुपैयाँ मात्र रहेको थियो। अमेरिकी डलरमा हेर्दा यस वर्ष ६४ करोड डलर शोधनान्तर रहेको छ भने अघिल्लो वर्ष ३१ करोड डलरमा सीमित थियो।
कुल विदेशी विनिमय सञ्चितिमा पनि वृद्धि देखिएको छ। असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति साउन मसान्तमा ४.८ प्रतिशतले बढ्दै २८ खर्ब ६ अर्ब ४ रुपैयाँ करोड पुगेको छ। अमेरिकी डलरमा यो रकम २० अर्ब ३ करोड डलर पुगेको छ।
नेपाल राष्ट्र बैंकमा सञ्चिति २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थामा २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ। साउन मसान्तसम्मको कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.४ प्रतिशत रहेको छ।
विदेशी विनिमय सञ्चितिले नेपाललाई २०.४ महिनासम्मको वस्तु आयात र १६.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त क्षमता दिएको छ।
साउन महिनामा रेमिट्यान्स १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा नेपाली रुपैयाँमा २९.९ प्रतिशत र अमेरिकी डलरमा २५ प्रतिशतले बढेको हो। निर्यात ९५.७ प्रतिशतले बढेको छ भने आयात ११.४ प्रतिशतले वृद्धि भएको छ।
नेपाल सरकारको खर्च साउनमा ४६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ र राजस्व परिचालन ८४ अर्ब ४७ करोड रुपैयाँ भएको छ। विस्तृत मुद्राप्रदाय मासिक आधारमा ०.७ प्रतिशतले घटेको भए पनि वार्षिक आधारमा १२.५ प्रतिशतले बढेको देखिन्छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ। वाणिज्य बैंकको निक्षेपको औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशत रहेको छ।