काठमाडौं- आउँदो असोज १ गतेदेखि सेयर बजार खुलाउनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बोर्डमा पत्र पठाएको छ।
पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण गएको साता मंगलबारयता बन्द रहेको सेयर कारोबार आउने बुधबारदेखि खुल्ने भएको हो।
नेप्सेका सीईओ चुणामणी चापागाईंले बुधबारबाट कारोबार खुलाउने तयारी गरिएकाे जानकारी दिएका छन्।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने भन्दै यसअघि सूचना जारी भएको थियो। पछिल्लो समय नयाँ सरकार बनेर सबै कुरा सामान्य हुन थालेसँगै सेयर बजार पनि खुलाउन लागिएको हो।