बुधबार, जेठ १६ गते २०८१    
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नको घोषणा

images
आइतबार, फागुन १५ २०७८
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नको घोषणा
images
images

काठमाडौं- भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको घोषणा भएको छ। विमानस्थल निर्माण काम सकिएसँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरेका हुन्। 

images
images
images

निर्माणकर्ता चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आईसीबी जिरो १ अर्थात भौतिक संरचना निर्माणको काम गरेको थियो।

images

विमानस्थलको क्यालिब्रेसान उडान पनि सकिएको र अब बैशाख १ गते परीक्षण उडान हुने अधिकारीले बताए। साथै जेठ २ गते गौतम बुद्ध जयन्तीको अवसर पारेर विमानस्थलमा  व्यवसायिक उडान सुरु हुने अधिकारीको भनाइ छ। साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले विमानस्थल निर्माण सम्पन्न भएको र अब सबै तयारी पूरा गरेर विमानस्थल सञ्चालन गर्ने बताए। उनले यो विमानस्थल पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तै चल्नेसमेत दाबी गरेका छन्।

images
images

सन् २०१७ को डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निमार्ण सुरु भएको राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चार वर्ष ढिला सम्पन्न भएको हो।

images
images

विमानस्थलमा ६ गतेबाट क्यालिब्रेसन उडान समेत सुरु भयो थियो। ६ गतेबाट सुरु भएको उडान समेत सम्पन्न भएको छ। क्यालिब्रेसन सकिएको र सबै प्रक्रिया पूरा गरेर विमानस्थलबाट व्यवसायिक उडान सुरु हुने अधिकारीले बताए।

विमानस्थल निर्माणका लागि २०१२ बाट ठेक्का प्रक्रिया सुरु भयो। २०१४ को नोभेम्बरमा विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो।

सम्झौतसँगै निर्माण कम्पनीले काम थालनी गरेको पाँच महिना नबित्दै नेपालमा २०१५ को अप्रिलमा भूकम्प गयो। भूकम्पबाट तंग्रिन नपाउँदै भारतले फेरि नाकाबन्दी ग¥यो। जसका कारण विमानस्थल निर्माणको काममा सुरुवाती समयमै समस्या देखिन थाल्यो।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले काममा केही सहजता गराउँदै गयो। तर चिनियाँ ठेकेदार कम्पनीको काम गरेको नेपाली ठेकेदार कम्पनीको कारणबाट पनि आयोजनाको काम प्रभावित भइरहेको थियो।

निर्माण कम्पनीले पनि नदीजन्य सामाग्री सहज रुपमा पाउन सकेको थिएन। सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी-जिरो एक’ अन्तर्गतका सबै काम सक्नुपर्ने थियो।

सरकारले ६ अर्ब २२ करोड रूपैयाँमा ‘आइसीबी-जिरो एक’ अन्तर्गत विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो। तर सन् २०१७ को डिसेम्बरसम्म आइपुग्दा चिनियाँ निर्माण कम्पनीले २७ प्रतिशतको हाराहारीमा मात्रै काम सम्पन्न गरेको थियो।

तोकिएको समयमा काम सम्पन्न हुने अवस्था रहेन। समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र आयोजना निर्देशनालयले समय एक वर्ष थप्ने तयारी गरिरहेको थियो। तर विमानस्थलको मुख्य लगानीकर्ता एसियाली विकास बैंकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको भन्दै आफूहरू बाहिरिने पत्र आयोजना निर्देशनालयमा पठायो।

आयोजना निर्देशनालयका प्रमखु थिए हालका महानिर्देशक प्रदीप अधिकारी। अधिकारीले उक्त विषय नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमसम्म जानकारी गराए।

लगानीकर्ताले निर्माण कम्पनीको काम सन्तोषजनक नभएको र अब पनि हुने आशा नदेखिएका कारण ठेक्का रद्द गरी पुनः काम गर्नुपर्ने विषय उठाएको थियो।

तर लगानीकर्ताले भनेजस्तो ठेक्का रद्द गर्न प्राधिकरण सहमत भएन। गौतम र अधिकारीले विभागीय मन्त्री तथा सचिवसँग  लगानीकर्ताको पत्रको विषयमा जानकारी गराए। जानकारी गराउँदै गौतम र अधिकारीले ठेक्का सम्झौता नगर्ने बरु प्राधिकरणले आफ्नै स्रोतबाट भए पनि विमानस्थल निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरे।

गौतम र अधिकारीले ठेक्का सम्झौता रद्द गरेर विमानस्थलको निर्माणको काम थालनी गर्न थप दुई वर्ष लाग्ने र लागत पनि दोबर हुने निष्कर्ष निकाल्दै लगानीकर्ता एडीबी बाहिरिए पनि प्राधिकरणकै स्रोतबाट काम गर्ने निर्णय गराए। जुन निर्णयसँगै विमानस्थल निर्माण देखिएको नगद प्रभावको समस्या पनि हटेको र कामले तीब्रता लिएको अधिकारी बताउँछन्।

यसरी कोमामा पुगको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समय थप भएको एक वर्ष अर्थात २०१८ को डिसेम्बरसम्म आइपुग्दा ५१ प्रतिशत काम सम्पन्न भयो।

प्राधिकरणले स्थानीय तह तथा जिल्ला प्रशासनको सहयोगमा निर्माण कम्पनीलाई आवश्यक पर्ने नदीजन्य सामाग्री उपलब्ध गराउन पनि सहयोग ग¥यो। निर्माण कम्पनीले पनि नेपाली ठेकेदार कम्पनी परिर्वतन गर्दै काम गरेको थियो। जसको प्रतिफल एक वर्षमै देखियो।

काममा प्रगति भएपछि पुनः लगानीकर्ता एडीबी आयोजनको काममा फर्कियो। काम अगाडि बढ्दै गयो। सन् २०१९ मा पुनः आयोजनाले विमानस्थल सञ्चाललका लागि सञ्चार उपकरण जडान लगायतका आइसीबी जिरो २ को कामका लागि ठेक्का प्रक्रिया सुरु गर्‍यो। आइसीबी २ का लागि एरो थाई छनोट भयो। उसले पनि काम सुरु गर्‍यो।

तर सन् २०१९ को डिसेम्बरदेखि विश्वव्यापी रुपमा कोभिड महामहारी सुरु भयो। जसका कारण अन्तिम चरणका पुगेको विमानस्थल निर्माणको काममा केही ढिला भयो।

अन्ततः अहिले विमानस्थल निर्माणको काम सम्पन्न भएको महानिर्देशक अधिकारीले बताए। विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीसमेत खटाइसकेको छ। विमानस्थल प्रमुखका रुपमा गोविन्द्रप्रसाद दहाललाई खटाइएको छ।

विमानस्थलका सञ्चालनका लागि आवश्यक ग्राउन्ड ह्यान्डिलिङको काम गर्ने जिम्मा राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निमगलाई दिइएको छ।

निमगले पनि विमानस्थलबाट व्यवसायिक उडान सुरु हुँदा चाहिने आवश्यक पूर्वाधार तयारको काम गरिरहेको जानकारी आफूहरूलाई आएको महानिर्देशक अधिकारी बताउँछन्।

विमानस्थल निर्माण कति भयो खर्च?

विमानस्थल निर्माणका अहिलेसम्म ३० अर्ब रूपैयाँ खर्च भएको छ। जसमा विमानस्थलको भौतिक संरचना निर्माणको काममा लागि ७ अर्ब रूपैयाँ हाराहारी खर्च भएको छ भने जग्गा मुआब्जामा भने २३ अर्ब रूपैयाँ खर्च भएको छ।

अब विमानस्थलमा थप २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्राधिकरण महानिर्देशक अधिकारी बताउँछन्। अब सरकारले विमानस्थलको विस्तार गर्दा जग्गा मुआब्जाका लागि रकम गर्न नपर्ने अधिकारी बताउँछन्।

तर आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन र जहाज पार्किङ-वे तथा एप्रोन निर्माणका लागि भने २५ अर्ब रूपैयाँ सम्म खर्च हुने उनको भनाइ छ।

तर यो काम विस्तारै हुँदै जान्छ। आधुनिक सुविधासम्पन्न टर्मिनल भवन निर्माणमा १४ अर्ब लाग्ने अनुमान भएकोसमेत अधिकारी बताउँछन्। योसँगै अहिले ५ वटा सना ठूलो जहाज पार्किङ गर्नसक्ने पार्किङ वे बनेको र यसलाई विस्तार गरे १० देखि १२ वटासम्म बनाउनु पर्ने उनको भनाइ छ।

विस्तारका काम सबै सम्पन्न भएपछि १० वर्षसम्मको नेपालको एयर ट्राफिक मुभमेन्ट गौतम बुद्ध विमानस्थलले थेग्ने अधिकारीको भनाइ छ।


प्रकाशित : आइतबार, फागुन १५ २०७८०१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend