काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आमन्त्रण गरिएको छ। केन्द्रीय बैंकले यसका लागि यही भदौ ३० गतेभित्र आवेदन दिन आग्रह गरेको छ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा छ करोड ५० लाख रुपैयाँ निक्षेप गर्नेछ।
यसमा सहभागी हुन चाहने संस्थाले न्यूनतम कुल पुँजीकोष कायम राखेको, निष्क्रिय कर्जा सापटीको दर आठ प्रतिशतभन्दा बढी नभएको र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको प्रमाणित गर्नुपर्ने सूचनामा उल्लेख छ।
साथै, लिन चाहेको रकम र प्रस्तावित ब्याजदरसमेत उल्लेख गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।