काठमाडौं- जेनजीको आन्दोलन र सरकारी दमनपछि भएका आगजनी र तोडफोडपछि पनि बैंक तथा वित्तीय संस्थाहरुमा जनताको निक्षेप भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ।
प्रदर्शनकारीहरुको तोडफोड र आगजनीका कारण बैंक तथा वित्तीय संस्थाहरुको पनि शाखा कार्यालय, एक्सटेन्सन काउन्टर र एटीएम मेसिनहरुमा भने क्षति पुगेको छ। कति क्षति भएको भन्ने यकिन तथ्यांक आएको छैन।
संघले देशभर प्रदर्शनका क्रममा बैंक तथा वित्तीय संस्थामा भएको आगजनी र लुटपाटका कारण भएको क्षतिको तथ्यांक संकलन गरिरेहेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए।
'बैंक तथा वित्तीय संस्थामा भएको क्षतिको तथ्यांक संकलनको काम भइरहेको छ। तथ्यांक संकलन नगरी यसै भन्न सकिने अवस्था छैन', कोइरालाले भने। यद्यपि निक्षेपकर्ताको निक्षेप भने सुरक्षित रहेको कोइरालाले बताए।
'बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधरणको बचत भने सुरक्षित छ। बैंकहरुको डाटाबेसहरुमा पनि खासै असर छैन', उनले भने।
तर, बढ्दो राजनीतिक संक्रमण तथा तरल स्थितिले भने बैंकर्सलाई चिन्तित तुल्याएको छ।
न्यून ब्याजदर, खराब कर्जा र बढ्दो तरलताको समस्या भोगिरहेका बैंकहरुलाई आगामी समयमा कसरी अगाडि बढने भन्ने विषयको चिन्ताले सताएको छ।
यसअघि नै सुस्त रहेको अर्थतन्त्रका बीच पछिल्लो परिवर्तनले बैंकर्समा एकखाले बेचैनी सुरु भएको छ। अर्थतन्त्र थप संकुचित हुने अवस्था आएमा बैंक तथा वित्तीय संस्थाहरूमा थप समस्या बढ्ने देखिन्छ।
उद्योगी व्यवसायीहरुको लगानीमाथि पनि क्षति पुगेकाले आगामी समयमा यसले बैंकहरुको कर्जा असुलीमा कस्तो असर पर्ला भन्ने मनोविज्ञानले समेत बैंकर्सलाई सताएको छ।
यद्यपि वर्तमान परिस्थिति र क्षतिको आँकलनको समीक्षासहित अगाडि बढनुको विकल्प नरहेको कोइराला बताउँछ्न्। आगामी समयमा थप जिम्मेवार र सम्हालिएर अगाडि बढ्नुपर्ने समय रहेको उनले बताए।
'आगामी समय थप कठिन छ। धैर्यतासहित सम्हालिएर अगाडि बढ्नुको विकल्प पनि छैन' उनले बताए।