काठमाडौं- जेनजी आन्दोलनका कारण उत्पन्न अन्योल बढेपछि नेपाल धितोपत्र बोर्डले दोस्रो बजार कारोबार बन्द गर्ने निर्णय गरेको छ। धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० को प्रावधानअनुसार बोर्डले मिति २०८२ भदौ २९ गतेदेखि असोज २ गतेसम्म कारोबार स्थगित गर्ने स्वीकृति दिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीका अनुसार असोज २ गते बिहीबारसम्म सेयर कारोबार बन्द हुनेछ। उनले भने, 'बोर्डले असोज २ गतेसम्म कारोबार बन्द गर्न निर्देशन दिएको छ। अब आउने असोज ५ गते आइतबारदेखि मात्रै बजार खुल्नेछ।'
यसअघि, जेनजी आन्दोलनका क्रममा बजारमा देखिएको अशान्ति र सुरक्षा चुनौतीका कारण भदौ २४ गते मंगलबारदेखि नै सेयर कारोबार स्थगित भएको थियो।
परिस्थिति सामान्य बनेमा खण्डमा असोज ५ गते आइतबार बजार पुनः सञ्चालन हुने बताइएको छ। यो दिन दसैँको घटस्थापनाको अघिल्लो दिन पर्छ।