आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

आन्दोलनबाट भएको क्षतिको विवरण संकलनमा लागे बीमा कम्पनी, निजी सम्पत्तिबाट २० अर्ब बढीको दाबी पर्नसक्ने

आइतबार, भदौ २९ २०८२
आन्दोलनबाट भएको क्षतिको विवरण संकलनमा लागे बीमा कम्पनी, निजी सम्पत्तिबाट २० अर्ब बढीको दाबी पर्नसक्ने

बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले आपतकालीन बैठक बसेर महाभूकम्प २०७२ भन्दा ठूलो दाबी पर्न सक्ने निष्कर्ष निकालेको छ।

काठमाडौं- जेनजी आन्दोलनका क्रममा राजधानी काठमाडौंसहित देशका विभिन्न सहरहरूमा तोडफोड, आगजनी र लुटपाट हुँदा निजी तथा व्यावसायिक क्षेत्रमा खर्बौँ रुपैयाँबराबरको क्षति भएको छ। यसले बीमा क्षेत्रमा मात्रै २० अर्ब रुपैयाँभन्दा बढीको दाबी पर्न सक्ने देखिएको छ।

नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशनसमेत दिएको छ। प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो।

सुरक्षा निकायले कर्फ्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।

प्राधिकरणले भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरेको सूचनामा उल्लेख छ। यसअघि प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको छ। 

आन्दोलनकारीहरूले भाटभटेनी सुपरमार्केटलाई सबैभन्दा ठूलो निसाना बनाए। काठमाडौं उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, राधेराधे, कलंकीलगायत १४ शाखामा आगजनी र लुटपाट हुँदा सबै संरचना ध्वस्त बने। विराटनगर, पोखरा, हेटौँडा, धरान, दमक, बिर्तामोड र भरतपुरका शाखा पनि आक्रमणमा परे। भाटभटेनीको मात्र अर्बौँको क्षति भएको छ। 

त्यस्तै हिल्टन होटल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, सेन्ट्रल बिजनेस पार्क, थापाथलीस्थित हुन्डाई, सुजुकी र टाटा मोटर्सका शोरुमहरूमा आगजनी हुँदा करोडौँको सम्पत्ति नष्ट भएको छ।

चौधरी ग्रुपको सतुंगलस्थित डिजिटल पार्क, कारखाना र शोरुममा क्षति पुगेको छ। सांसद विनोद चौधरीको रविभवनस्थित निवासमा भएको आगजनीमा घरसहित आधा दर्जन गाडी खरानी बनेका छन्। बसन्त चौधरीको ठमेलस्थित घरमा पनि तोडफोड भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबी हुलदंगा तथा आतंकवाद जोखिमअन्तर्गत पर्ने भएकाले दाबी भुक्तानीको ठूलो भार नेपाल पुनर्बीमा कम्पनीमाथि पर्नेछ। बीमा कम्पनीहरूले यो जोखिममा ३५ प्रतिशत दायित्व आफूसँग राख्ने र बाँकी ६५ प्रतिशत नेपाल पुनर्बीमामा हस्तान्तरण गर्ने व्यवस्था छ। यसरी ठूलो क्षति हुँदा पुनर्बीमा कम्पनीलाई अर्बौँ रुपैयाँको दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ।

बीमा कम्पनीहरूले बीमित सम्पत्तिको क्षति विवरण संकलन सुरु गरिसकेका छन्। बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले आपतकालीन बैठक बसेर महाभूकम्प २०७२ भन्दा ठूलो दाबी पर्न सक्ने निष्कर्ष निकालेको छ। संघले जारी गरेको विज्ञप्तिमा दाबी व्यवस्थापन चुनौतीपूर्ण भए पनि कम्पनीहरू यसका लागि सक्षम र प्रतिबद्ध रहेको उल्लेख छ।

नेपाल बीमा प्राधिकरणका अनुसार अहिलेसम्म प्रारम्भिक विवरण संकलन भइरहेको छ। यथार्थ आँकलन केही दिनमा मात्र सम्भव हुने भएकोले दाबी सहज र छिटो भुक्तानी होस् प्राधिकरणले जनाएको छ।


प्रकाशित : आइतबार, भदौ २९ २०८२०९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend