काठमाडौं- नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नक्साल सोरुममा एमजी जेडएस ईभी सार्वजनिक गरेको छ। आइतबार औपचारिक कार्यक्रममार्फत आफ्नो नयाँँ विद्युतीय गाडी एमजी जेडएस ईभी २०२२ सार्वजनिक गरेको हो।
जेडएस ईभी स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा आउने यो कार दुईवटा ब्याट्री प्याकको विकल्पमा आउने छ। एउटा ५१.५ केडब्लूएच हाइ-टेक ब्याट्री भएको जसको रेन्ज ३१९ किलोमिटर र अर्को ७२.६ केडब्लूएच ब्याट्री भएको जसको रेन्ज ४४० किलोमिटर रेन्ज दिने छ। यो कारको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेका छ।
एमजी जेडएस ईभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ। यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ। साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन्।
एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ। एमजी जेडएस ईभी २०२२ मा १३० एचपीको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ।
यो कारले ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड््न सक्छ। एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय ह्वील र २.५ को पीएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन्।
एमजी जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल-ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन्। यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ।
साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ। एमजी जेडएस ईभी स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ र लङ रेन्जको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।