चितवन- एक सिङ्गे गैँडा, बाह्रसिङ्गे, अर्ना र कृष्णसार स्थानान्तरणको गृहकार्य थालिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिले वन्यजन्तु स्थानान्तरणका लागि अध्ययन गर्न समिति बनाएर प्रक्रिया अघि बढाएको हो। चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र यहाँबाट कोशीमा गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गर्न लागिएको हो।
चितवनमा नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटा र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट कृष्णसार ल्याउन, कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट अर्ना ल्याउन र शुक्लाफाँटाबाट बाह्रसिङ्गे ल्याउनका लागि अध्ययन सुरु गर्न समिति बनाइएको हो।
विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत इकोलोजिष्ट हरिभद्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाइएको छ। समितिमा कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा विभागका सहायक इकोलोजिष्ट हेमराज आचार्य, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र विश्ववन्यजन्तु कोषका डा कञ्चन थापा सदस्य रहेको समिति बनाइएको हो । समितिले अध्ययन गरी प्रतिवेदन दिएपछि स्थानान्तरणको काम थालिने छ।
महानिर्देशक डा कँडेलका अनुसार समितिले प्रतिवेदन दिएपछि मन्त्रालयले अन्तिम टुङ्गो लगाउने छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै छ भने पूर्वमा कम छ। पूर्वमा बासस्थानको व्यवस्थापन गरी गैँडा स्थानान्तरण गर्नुपर्ने तर्क अघि सारिएको छ। अध्ययनपछि एकिन भन्न सकिने उनले बताए। यहीँबाट कोशीमा गैँडा लैजान सकिन्छ कि भन्ने विषयमा पनि अध्ययन गर्न लागिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा धेरै वर्षअघि अर्ना रहेको बताइन्छ। पहिले भएकै कारण यहाँ अर्नाको बासस्थाान उपयुक्त हुने विज्ञको भनाइ छ। यद्दपि खोरमा लामो समय राख्दा भने समस्या भएको हो।
पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यसअघि नै अध्ययन गरिसकिएको छ। आचार्यका अनुसार सो ठाउँमा १६ देखि १८ वटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाइसकिएको छ। सो ठाउँमा खुल्ला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ। उनका अनुसार सोलार फेन्स गरेर बीचको भागमा माटाका थुप्रा बनाउनुपर्ने हुन्छ। सर्वसाधारणले अवलोकन गर्न सक्ने गरी स्थानान्तरण उपयुक्त हुने उनको तर्क छ।
सो क्षेत्र निकुञ्जको मध्यवर्तीभन्दा बाहिर परेकाले यसको व्यवस्थापनको टुङ्गो लाग्न ढिलो भएको बताइएको छ। निकुञ्जमा यसअघि ल्याइएका सात वटा बाह्रसिङ्गेमध्ये ६ वटा मरिसकेका छन्। तत्कालीन समयमा दुई भाले र पाँच पोथी बाह्रसिङ्गे शुक्लाफाँटाबाट ल्याइएको थियो। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोरमा अर्नासँगै बाह्रसिङ्गे राखिएको थियो। सो खोरमा हाल तीन वटा अर्ना छन्। तत्कालीन समयमा कोसीटप्पुबाट १३ वटा र सदर चिडियाखानाबाट दुई वटा अर्ना ल्याइएको थियो। ल्याइएका अर्ना मरेर अहिले तीन वटा बच्चा मात्रै बाँकी रहेका छन् । ती यही जन्मिएका बच्चा भएको आचार्यले जानकारी दिए।
ठूलो सङ्ख्यामा अर्ना ल्याएर वर्षाको समयमा बथानमा खुल्ला छोड्ने गरी अर्ना स्थानान्तरणको योजना बनाइएको छ। वर्षात्को समयमा एकै ठाउँमा राख्दा समस्या देखिएपछि हिउँदमा केही समय खोरमा राखेर छाड्ने गरी स्थानान्तरण गर्ने योजना बनाइएको हो।
एकै ठाउँमा वन्यजन्तु रहँदा कुनै महामारी रोगव्याधी भएमा वंश विनास हुनसक्ने भएकाले विभिन्न ठाउँमा स्थानान्तरण गर्न लागिएको हो। यसअघि यहाँबाट दुर्लभ एकसिङ्गे गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको थियो। चितवनमा दुर्लभ एकसिङ्गे गैँडाको सङ्ख्या बढेर एकै ठाउँमा धेरै हुँदा जुधेर मर्ने क्रम बढेको छ। यससँगै भागदौड हुँदा दलदलमा फसेर, भालेले हानेर मर्ने गरेका छन्। रासस