काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई अत्यावश्यक सेवामात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको सूचनामा सम्पूर्ण इजाजत पत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले २०८२ भदौ २५ गते जारी गरेको विज्ञप्ति नं. १६ अनुसार आफ्ना सेवाहरू निरन्तर राख्न आग्रह गरिएको छ।
सूचनामा भनिएको छ, ‘व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै सीमित कर्मचारीमार्फत आफ्ना सम्वेदनशील प्रणाली (क्रिटिकल सिस्टम) सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुरु गर्नुहुन अनुरोध छ।’
अन्य प्रणालीहरू भने जोखिम मूल्यांकन आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
त्यसैगरी सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवाबारे जानकारी आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सार्वजनिक गर्न सबै वित्तीय संस्थालाई भनिएको छ।