काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले सुदेश खालिङ राईलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः नियुक्त गरेको छ।
बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले आगामी असोज ८ गतेदेखि लागु हुनेगरी चार वर्षका लागि खालिङलाई निरन्तरता दिने निर्णय गरेको हो। खालिङलाई पहिलोपटक चार वर्षअघि बैंकले सीईओमा नियुक्त गरेको थियो।
त्यसअघि भारतको पञ्जाब नेसनल बैंकका प्रतिनिधि नै एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत रहने परम्परा थियो। उनी नियुक्त भएपछि पहिलोपटक एभरेष्ट बैंकले नेपाली बैंकरलाई सीईओ बनाएको थियो।
खालिङको नेतृत्वमा पछिल्लो चार वर्षमा सन्तोषजनक प्रगति भएको बैंकले जनाएको छ। सम्पत्तिको गुणस्तर बिग्रँदै जाँदा अन्य बैंकहरू समस्यामा परेको अवस्थामा पनि एभरेष्ट बैंककाे सूचकांक सकारात्मक रहेको बैंकको भनाइ छ।