काठमाडौं- गतसाता समग्रमा ६०.३५ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालो नै लागेको छ।
आइतबार ११.३२ अंकले घटेर बजार २७०८.४५ बिन्दुमा झरेको छ। ७९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। १७३ कम्पनीको सेयर मूल्य घटेको छ।
गएको साता आइतबार ३१.१८ अंकले घटेको बजार सोमबार १२.९१ अंकले बढेकोमा मंगलबार १९.८९ अंकले घटेको थियो। बुधबार १५.६४ अंकले ओरालोतिरै लागेकोमा बिहीबार ६.५५ अंकले घटेको थियो।
बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजार पुन: वृद्धितर्फ जान धरमर गरिरहेको छ। लगानीकर्ता पर्ख र हेरको सोचमा नै देखिन्छन्।