बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

पाँच दशक याक खर्कमै रमाएका नन्दबहादुर : 'जीवनका सबै रहर गोठमै मेटाएँ'

शुक्रबार, भदौ २० २०८२

कहिले चरनमा चर्दै गरेका भेँडाका बथानहरू अलग्गिएर हप्ता दिनसम्म हराउँदा भोकभोकै भेँडा खोज्न हिँड्दाको त्यो क्षण कहालि लाग्दो रहेको उनी सम्झन्छन्।

काठमाडौं- झोलाभरी किताब, कापी र कलम बोकेर विद्यालय जानुपर्ने नन्दबहादुर भण्डारी १३ वर्षकै उमेरमा भेँडा धपाउँदै मुस्ताङ आए। २०२८ साल बैशाखमा आफ्नो थातथलो म्याग्दीको साँझापानीलाई बिदाइ गरेर बाटो वरपर देखिने हरियाली हेर्दै, भेँडा धपाउँदै चार दिन लगाएर नन्दबहादुर मुस्ताङ उक्लिएका हुन्। मुस्ताङ आइपुगेर उनको नाम नन्दे भएको छ। अहिले यही नाम उनलाई प्यारो लाग्छ। 

घरको जेठो छोरा भएकोले उनलाई जिम्मेवारीको गह्रौँ भारी धेरै नै रहेछ भन्ने महसुस हुन्छ। त्यहि जिम्मेवारीको भारी बोकेर एउटा ठूलो सपनासहित मुस्ताङ आएका हुन् नन्दबहादुर।

बाबाको अंशमा परेको ६९ वटा भेँडासँगै मुस्ताङ आएका नन्दबहादुर अहिले ६७ वर्षको उमेरमा पनि उच्च हिमाली लेकमा भेँडा धपाउँदै छन्। अहिले उनीसँग ६ सय भेँडाको बथान छ। 

म्याग्दीको रघुगंगा गाउँपालिका साँझापानीमा जन्मिएका नन्दबहादुरलाई त्यहि हिमाली लेकबेँसी, खर्क, बुकी र विशाल फाँटहरू मन पर्छ।

भेँडाको बथानसँगै बाल्यकालमा मुस्ताङको थासाङ गाउँपालिका टुकुचे गाउँको खर्कमा आएर भेँडा चराएको दिन र त्यो बालापन नन्दबहादुर अझै सम्झिरहन्छन्। 

समुद्रि सतहदेखि ४ हजार मिटरको उचाइमा रहेको लेकमा बस्दै सयौँ भेँडाको रेखदेख गर्नु सजिलो काम होइन। बर्खा लाग्नेबित्तिकै भेँडाको बथानसँग मुस्ताङ उक्लिनु र लेकमा बास बस्नु कठिन छ। तर हरेक समय उही कर्ममा लागिरहेका नन्दबहादुरलाई सबै सहज लाग्दै आयो। अहिले फर्केर हेर्दा ९ कक्षापछि पढ्न नपाएको उनलाई अलिअलि पछुतो भने छ। 

टुकुचेका स्थानीयले बतासे याक खर्कको नाम दिएको उच्च हिमाली लेकमा अहिले निर्धक्कसँग उकाली ओराली गरिरहेका छन् नन्दबहादुर। केहि वर्षयता भने उकालोमा हिँड्न केही समस्या भएपछि उनले दुईवटा घोडा किनेका छन्।

समय बदलिँदै जाँदा सबै कुरा बदलिँदो रहेछ भन्दै भण्डारी थप्छन्,'सबैकुरा पहिलाको जस्तो छैन, अहिले मानिसको रहनसहन, चालचलन, रितिथिति, आर्थिक, धर्म र संस्कारमा आमूल परिवर्तन आएको छ।'

नन्दबहादुरले भेँडा व्यवसाय सुरु गर्दा एक जोडा भेँडाको दुई रुपैयाँ पचास पैसा पर्थ्यो। अहिले एक जोडा भेँडाको मूल्य २५ देखि २६ हजार रुपैयाँसम्म पर्ने गरेको उनले बताए। उनले भने 'एउटा भेँडाको मूल्य २० देखि २४ हजारसम्म पर्छ र खसीलाई भने ३५ देखि ४० हजारसम्म पर्छ।'

तीन दाजुभाई र एक बहिनीमध्ये आफू घरको जेठा छोरा भएकोले घरको एउटा जिम्मेवारी सम्हाल्न पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए। कक्षा १ देखि ४ सम्म साविक भगवति गाविस वडा नम्बर-९ मा रहेको अन्नपूर्ण प्रावि र कक्षा ५ देखि ९ सम्म भने साविकको मुक्तिधाम माध्यमिक विद्यालयमा अध्ययन गरेको उनले बताए।

गोठमा भेँडा हेनुपर्ने बाध्यताले पढ्ने समय नमिल्दा सोह्र वर्षको उमेरमा ९ कक्षा अध्ययन गर्दागर्दै आफ्नो जीवनको महत्वपूर्ण पाटाहरूलाई सधैको लागि बिट मारे र मुस्ताङको उच्च हिमाली लेकमा भेँडा चडाउदै दैनिकी चलाउन थाले। 

आफ्ना बुबाको दाजुभाइहरूसँग भएको जम्मा ३ सय वटा भेँडा गोठबाट सबैलाई भाग लगाउँदा नन्दबहादुरका बाको भागमा ६९ वटा भेँडा परेको थियो। उनले त्यहि भेँडाहरूलाई आफ्नो जीवनको सबैथोक सम्झे र निरन्तर मेहनत र परिश्रम गर्दै आए। आज ५५ वर्षपछि उनीसँग करिब ६ सय हाराहारीमा भेँडा छन्।

लामो सास फेर्दै उनी भन्छन् 'मैले जीवनका सबै रहर गोठमै मेटाएँ।'

विदेश जान मन कहिल्यै नआएको बताउने उनले अहिले आफ्नै छोराहरूको विदेश मोह देख्दा भने दुःख लागेको बताउँछन्। जति रोक्ने प्रयास गरेपनि आजकालका छोराछोरीहरू बुबाआमाको पेसा व्यवसायलाई त्यति ख्याल नगर्ने बरु विदेश जाँदा खुसी हुने लहर देख्दा अब आफ्नो पेसा पनि लामो समय नटिक्ने हो कि भन्ने चिन्ता रहेको उनको धारणा रहेको छ।

तत्कालिन अवस्थामा बेनी-जोमसोमको कच्चि सडक, साँघुरो बाटो र बस्ति वरपरको गल्लिहरू छिचोल्दै भेँडा धपाउँदै मुस्ताङ आउनुपर्ने बाध्यता अब भने हटेको छ। अहिले यातायातको पहुँच बढेसँगै मुस्ताङमा भेँडा बाख्रा ल्याउन र लैजान भने कुनै अप्ठ्यारो छैन।

आजभोलि गोठालाको अभाव र यस पेसाप्रति युवाहरूको चाँसो नहुँदा भने चाँडै नै यो पेसा संकटमा पर्ने हो कि भन्ने चिन्ता रहेको उनले बताए।

भेँडाबाख्रालाई बर्खाको ५ महिना मुस्ताङको बतासे याक खर्क र ७ महिना म्याग्दीको दग्नाम, बेग र राखुमा रहेको बेँसी लेकमा राख्ने चलन धेरै पुरानो हो। हालसम्म पनि यो प्रचलन निरन्तर रुपमा चलिरहँदा भेँडा राख्ने र आफू बस्ने गोठ भने कहिल्यै परिवर्तन नभएकोप्रति उनी दुःख व्यक्त गर्छन्।

'करिब ५५ वर्षसम्म जीवनका कयौँ पाटाहरू परिवर्तन भए, कयौँ सपनाहरू परिवर्तन भए त कयौँ त्यसै बिलाए। कयौँ साथीहरू फेरिए त कयौँ गोठालाहरू फेरिए। आजसम्मत लाखौँ भेँडाहरू फेरिए तर आफू भने कहिल्यै फेरिन सकिएन' उनले सुनाए।

सयौँ पटक परिवारलाई टुहुरोझैँ बनाएको सम्झिँदै उनी एकछिन भावुक पनि बने। तरपनि उनले कहिलेकाहिँ भएपनि परिवारलाई आफूले सकेको समय दिएर भएपनि आफ्नो खुट्टामा उभिन सक्ने बनाए। 

आफ्ना पाँच भाइ छोरा र तीन छोरीमध्ये जेठा छोराले भने आफ्नो पेसालाई केही हदसम्म भएपनि अगाल्न खोजेको उनले बताए। योसँगै उनका दुई भाइ छोरा विदेशमा धन कमाउन गएको र दुई छोरा घरमै बेरोजगार रहेका छन्। तीन बहिनी छोरीहरू सबै विवाहित छन्।

सानैदेखि आफ्नै देशमा दु:ख गरेर केही गर्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारी विदेश गएर धन कमाएर ल्याउँला, घर परिवार चलाउँला भन्ने सोच कहिल्यै नआएको बताउँछन्। 

बुढेसकालमा लेकको चिसो सिरेटो, मनै अत्याउने बेजोडको हावा र सिमसिम पानीको कालो बादलभित्र हराउँदाको त्यो पीडा दर्दनाक पनि छ। कहिले चरनमा चर्दै गरेका भेँडाका बथानहरू अलग्गिएर हप्ता दिनसम्म हराउँदा भोकभोकै भेँडा खोज्न हिँड्दाको त्यो क्षण कहालि लाग्दो रहेको उनी सम्झन्छन्। 

लेकमा भेँडाहरू चराउन जाँदा उकालीमा मकैभट्ट चपाउने उनका दाँत झरेर अहिले गिजामात्रै देखिएको छ। ६७ वर्ष पुगे पनि उनको मन भने जवान छ। आजकालका युवाहरू अप्ठयारो भीरमा उक्लँदा खुट्टा कमाउँछन् तर नन्दबहादुर बिना कुनै सहारा भेँडा चडाउन त्यहि अजंगको भीरमा दैनिक उकालीओराली गर्छन्।

सरकारले दिने सेवासुविधा भने केही नभएको तर जताततैबाट कर उठाउनाले व्यवसायीहरू मारमा परेको उनले बताए। सुरुवातका दिनहरूमा कुनै पनि कर लाग्ने थिएन। अहिले गाउँलेहरूले पनि चरिचरनको लागि भनेर ठाउँ नै पिच्छे चरिचरन कर, घरेलु कर र उद्योग वाणिज्यमा कर तिर्दातिर्दै आजित भैसकेको उनले बताए। सँगै त्यही कर तिरेको पनि अडिट गर्नलाई थप अर्को रकम तिर्नुपर्ने बाध्यता रहेको उनको दु:खेसो छ।

‘जनताले दु:ख गरेको सबै सरकारले खाएपछि जनताले दुःख गर्नुको कुनै औचित्य छैन’ उनले भने। रासस


प्रकाशित : शुक्रबार, भदौ २० २०८२१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend