बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

१२ अर्ब ५० करोडको लगानीमा तीन अस्पतालको क्षमता विस्तार हुँदै, कुनमा कति लगानी?

शुक्रबार, भदौ २० २०८२
१२ अर्ब ५० करोडको लगानीमा तीन अस्पतालको क्षमता विस्तार हुँदै, कुनमा कति लगानी?

काठमाडौं- तीनवटा अस्पतालको क्षमता विस्तारमा १२ अर्ब ५० करोड रुपैयाँ लगानी हुने भएको छ। वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टअनुसार तीनवटा अस्पतालको क्षमता विस्तारमा १२ अर्ब ५० करोड रुपैयाँको लागत अनुमान गरिएको छ।

पाटन अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र धनुषाको जनकपुरधाममा विनयतारा क्यान्सर अस्पताल विस्तारका लागि वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक भएको छ।

१० अर्ब ७३ करोड रुपैयाँको लगानीमा पाटन अस्पताल १२ सय बेड क्षमतामा विस्तार हुँदै छ। विनयतारा क्यान्सर अस्तालको विस्तारमा १ अर्ब ४५ करोड रुपैयाँ लगानी हुने भएको छ।

यसैगरी ३२ करोड रुपैयाँको लगानीमा चितवनको भरतपुर महानगरपालिकामा सञ्चालन भइरहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट भवनसमेत विस्तारमा ३२ करोड रुपैयाँ लगानी हुने भएको छ।

पाटन अस्पताल

patan hospital.jpeg

६ सय बेड क्षमताको पाटन अस्पताल अब १२ सय बेड क्षमताको बनाइने भएको छ। १० अर्ब ७३ करोड २३ लाख ५४ हजार रुपैयाँको लागतमा अस्पताललाई १२ सय बेड क्षमताको बनाउन लागिएको छ। जसका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत वातावरणीय प्रभाव मूल्यांकन तयार गरेको हो।

वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ। अस्पतालमा बेसमेन्ट, ग्राउन्ड फ्लोरसहित ७ तलाको भवन निर्माण हुने छ।

भवनको उचाइ ३५ मिटरको हुने छ। सन् १९८२ मा तत्कालीन मिसन अस्पताल र ललितपुर अस्पताल एकै बनाएर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापन गरिएको थियो। प्रतिष्ठानले सन् २०१० देखि एमबीबीएस कार्यक्रम सञ्चालन गरेको हो।

अस्पताल विस्तारको काम ३६ महिनामा सकिने रिपोर्टमा उल्लेख छ। जहाँ ५ सय वटा बाइक र ३ सय वटा कार पार्किङ क्षेत्र रहने छ। १२ सय बेड नै सञ्चालनमा आएपछि जनशक्ति पनि दोबर बढ्ने रिपोर्टमा उल्लेख छ।

विस्तार हुने भवनको निर्माणमा २ लाख बोरा सिमेन्ट, २१ हजार २ सय ६९ क्युबिक ढुंगा गिट्टी, १० हजार ७ सय ३० क्युबिक बालुवा र ४ सय १५ टन फलामे डण्डी आवश्यक पर्ने उल्लेख गरिएको छ।

बीपी कोइराला मेमोरियन क्यान्सर अस्पताल

BP koirala cancer.jpg

चितवनको भरतपुर महानगरपालिकामा सञ्चालन भइरहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विस्तार तथा स्तरोन्नति हुने भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल राष्ट्रियस्तरको सबैभन्दा ठूलो अस्पताल हो।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हाल ४५० शैय्या क्षमतामा सेवा प्रदान भइरहेको छ। सन् १९९८ मा चीनको सहयोगमा अस्पताल निर्माण भएको थियो। अस्पतालबाट डायग्नोसिस, थेराप्युटिकप्रिभेटिभसहितको सेवा सञ्चालन भइरहेको छ। अस्पताल कुल ७५ बिघा १० कठ्ठामा फैलिएको छ। अस्पतालले विभिन्न क्यान्सर उपचार सेवा दिँदै आएको छ।

बढ्दो बिरामीको चाप र आधुनिक उपकरणको आवश्यकताले क्यान्सरजस्ता रोगहरुको अवस्थाबारे पूर्वजानकारी गर्नुका साथै रोगको सहज विधिद्वारा उपचार उपलब्ध गराइ क्यान्सरबाट हुने मृत्यु घटान तीनवटा सेवा विस्तारका लागि संरचना निर्माणको प्रस्ताव गरेको छ।

जसमा एसपीईसीटी एण्ड पीईटी-सीटी स्क्यान, साइक्लोट्रन सुविधा र बोनम्यारो ट्रान्सप्लान्टको संरचना बनाउन लागिएको हो। दुईवटा सेवाका लागि आवश्यक संरचना निर्माणमा नेपाल सरकारको लगानी रहने छ। बोनम्यारो ट्रान्सप्लान्ट लागि आवश्यक संरचना निर्माणमा भने चीन सरकारको सहयोग हुने छ। अस्पताले २०८०/०८१ मा मात्रै १ लाख ७१ हजार ४ सय ५८ जनालाई ओपीडी सेवा दिएको थियो।

प्रस्तावित साइक्लोट्रन भवन निर्माणमा ६ करोड ९६ लाख २७ हजार ५ सय ५४ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसैगरी पीईटी-सीटीस्क्यान भवन निर्माणमा १० करोड १० लाख ४९ हजार खर्च हुने अनुमान भएको छ। यो दुबै संरचना निर्माणमा सरकारकै लगानी हुने छ।

चीन सरकारको सहयोगमा निर्माण हुने बोनम्यारो ट्रान्सप्लान्ट भवन निर्माणमा १५ करोड खर्च हुने अनुमान गरिएको छ। समग्रमा तीनवटा सेवाका लागि आवश्कय संरचना निर्माणमा ३२ करोड ६ लाख ७७ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

विनयतारा क्यान्सर अस्पताल

१ अर्ब ४५ करोडको लगानीमा २५ शय्याको विनयतारा क्यान्सर अस्पताल २ सय शय्यामा विस्तार गरिने भएको भएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ मा सञ्चालन भइरहेको विनयतारा क्यान्सर अस्पताल विस्तार गरिने भएको छ।

अस्पताल विस्तारका लागि विनयतारा क्यान्सर ट्रष्टले आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारेको छ। रिपोर्ट रायसुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

२५ शय्याको क्यान्सर अस्पतालललाई विस्तार गरी सुविधासम्पन्न २ सय शय्याको बनाइने रिपोर्टमा उल्लेख छ। अस्पताल विस्तारमा १ अर्ब ४५ करोड ५२ लाख ८५ हजार ३ सय ६२ रूपैयाँ लाग्ने अनुमान गरिएको छ। अस्पताल ३६ महिनामा निर्माण सम्पन्न हुने रिपोर्टमा उल्लेख छ।

विनय तारा फाउन्डेसन २०१८ सालदेखि सञ्चालनमा आएको हो। यसले जनकपुरधाममा क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ। अहिले विनयताराले २५ शय्याको क्यान्सर अस्पताल सञ्चालन गरिरहेको छ।

अस्पताल जनकपुर विमानस्थलबाट ५.७ किलोमिटर र नेपाल-भारत सीमाबाट ५.५ किलोमिटर दुरीमा रहेको छ।


प्रकाशित : शुक्रबार, भदौ २० २०८२०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend