काठमाडौं- उतारचढावमा देखिएको सेयर बजार यो साता ओरालोतिर नै देखिएको छ। यो साता बजार समग्रमा ६०.३५ अंकले घटेको हो।
यो साता आइतबार ३१.१८ अंकले घटेको बजार सोमबार १२.९१ अंकले बढेकोमा मंगलबार १९.८९ अंकले घटेको थियो। बुधबार १५.६४ अंकले ओरालोतिरै लागेकोमा बिहीबार पनि बजार घटेको छ।
बिहीबार ६.५५ अंकले घटेर बजार २७१९.७७ बिन्दुमा झरेको छ। ८५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ। १६५ कम्पनीको सेयर मूल्य घटेको छ।
बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजार पुन: वृद्धितर्फ जान धरमर गरिरहेको छ।
गएको केही सातायता कमजोर देखिएको बजारमा आउने साता पनि ठूलो फेरबदल नहुने विश्लेषकहरू बताउँछन्। लगानीकर्ता पर्ख र हेरको सोचमा नै देखिन्छन्।