काठमाडौं- सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। सोमबार १२.९१ अंकले बढेर बजार २७६२.७४ बिन्दुमा पुगेको छ।
सोमबार १४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। १०६ कम्पनीको सेयर मूल्य घटेको छ।
लगातार तीन दिनमा ७९.०१ अंकले बढेर गतसाताको अन्तिम कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार ३१.१८ अंकले घटेर २७४९.८३ बिन्दुमा झरेको थियो।
गएको साता आइतबार १८.०२ अंकले ओरालोतर्फ लागेको बजार त्यसपछि लगातार तीन दिन उकालोतर्फ लागेको थियो। सोमबार २१.३० र मंगलबार ४.८३ अंकले बढेको बजार बुधबार ५३.०१ अंकले बढेको थियो भने बिहीबार ३८.१० अंकले घटेको थियो।
बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजार पुन: वृद्धितर्फ जान धरमर गरिरहेको छ। लगानीकर्ता पर्ख र हेरको सोचमा नै देखिन्छन्।