काठमाडौं- झण्डै ६ महिना रोकिएको साधारण सेयर (आईपीओ) अहिले भटाभट जारी भइरहेको छ। फागुन महिनाको १२ दिनमै तीनवटा कम्पनीको आईपीओ बाँडफाँट भइसकेको छ।
फागनु १ गते जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको थियो। यसैगरी फागनु ४ गते इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट भएको थियो। यसैगरी फागनु १२ गते बिहीबार मात्रै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईपीओ बाँडफाँट गरेका हो।
जाल्पा सामुदायिक लघुवित्त
तीनवटा कम्पनीमध्ये सबै राम्रो कम्पनी जाल्पा सामुदायिक लघुवित्त देखिएको छ। यो कम्पनीको सेयर ४८ हजार ७ सय ९० जनाले १० कित्ताका दरले पाएका छन्।
कम्पनीको आईपीओ खरिदका लागि २७ लाख ९ हजार ८५५ जनाले ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए। कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो। कम्पनीले सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर बाँडफाँट गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १० करोड ७८ लाख छ। आईपीओ बाँडफाँटपछि यो पुँजी १६ करोड पुग्नेछ। कम्पनीको आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ १६४.६० रहेको छ।
कम्पनीले वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि प्राप्त गर्नेछ। कम्पनीको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गर्छ।
कम्पनीको आर्थिक वर्ष ७७/७८ को नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ। यस हिसाबमा कम्पनीले ११३९ सम्मको अधिकतम रेन्ज पाउन सक्छ। कम्पनीको सेयर पुँजी ७ करोड, रिजर्भमा ७ करोड ७४ लाख, खुद ब्याज आम्दानी ११ करोड ३८ लाख, संचालन आम्दानी १३ करोड ६७ लाख, संचालन मुनाफा २ करोड २४ लाख, खुद नाफा १ करोड ७५ लाख र संचित मुनाफा २ करोड ८० लाख रहेको छ।
आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सेयर पुँजी १० करोड ७८ लाख, जेग्दा तथा कोषहरु (रिजर्भ) ३७ करोड ७१ लाख, खुद ब्याज आम्दानी २५ करोड ९५ लाख, संचालन आम्दानी ३२ करोड ३६ लाख, संचालन मुनाफा ९ करोड ५६ लाख र खुद मुनाफा १० करोड ४३ लाख रहेको छ।
आर्थिक वर्ष २०७७/७८ को अपरिस्कृत विवरणअनुसार कम्पनीको प्रति सेयर आम्दानी ९६.७५ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले आफ्नो प्रतिसेयर आम्दानी ११२.८७ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७७/७८ को अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले आफ्नो प्रति सेयर नेटवर्थ ४९३.६२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ।
कम्पनीको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गर्छ। कम्पनीको आर्थिक वर्ष ७७/७८ को नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ। यस हिसाबमा कम्पनीले ११३९ सम्मको अधिकतम रेन्ज पाउन सक्छ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था
यसैगरी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
७९ हजार ४ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको छ। कम्पनीको आईपीओ पर्नेले कारोबार भएको पहिलो दिननै ५ हजार २२ रूपैयाँ कमाउने छन्। सूचकको हिसाबले अब्बल कम्पनी भएकोले प्रतिसेयर नेटवर्थ १६७.४३ रूपैयाँ रहेको छ। ओपनिङ कारोबार अधिकतम तीन गुणासम्म रेन्ज पाउने भएकोले ५०२२.९ पहिलो दिन नै कमाउने देखिन्छ।
कम्पनीको प्रतिसेयर आम्दानी भने १६.०८ रूपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा प्रतिसेयर नेटवर्थ ३४७ रूपैयाँ पुग्ने प्रक्षेपण पनि गरेको छ। कम्पनीले उक्त वर्षसम्म प्रतिसेयर आम्दानी २९ रूपैयाँ पुग्ने प्रक्षेपणसमेत गरेको छ।
सर्वसाधारणहरूमा निष्काशन गरिने साधारण सेयरको लागि 'क्रेडिट रेटिङ्ग नियमावली, २०६८' को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि डिल्लीबजार, काठमाडौंबाट क्रेडिट रेटिङ गराई गराइएको थियो। कम्पनीले फागुन ४ देखि ८ गतेसम्म निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट गरेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी गराएको छ। आईपीओमा आवेदन दिएका २५ लाख ८५ हजार २६१ आवेदक मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको थियो। २५ लाख ७९ हजार ४ सय २ जना योग्य आवेदकलाई गरेको बाँडफाँटमा ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर पाएका छन्।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ८ करोड ५० लाख रूपैयाँको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा १३ हजार कित्ता कर्मचारी, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
इमर्जिङ्ग नेपाल
यसैगरी इमर्जिङ्ग नेपालका प्राथमिक सेयरधनीहरूका पहिलो दिनमै ३ हजार १ सय ५२ रुपैयाँ कमाउने देखिएको छ। कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँको रेञ्ज पाउने देखिन्छ।
यदि अधिकतम रेञ्जमा कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै ३ हजार १ सय ५२ रुपैयाँ कमाउने छन्। पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्। कम्पनीको आर्थिक वर्ष ०७७/७८ को वास्तविक नेटवर्थ १०५.११ रुपैया छ। कम्पनीको आर्थिक वर्ष ०७६/७७ मा १०३.१० रहेको थियो। भने आगामी वर्ष १०६.३७ हुने प्रक्षेपण समेत गरेको छ।
नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्रि ओपनिङ सेसनमा सो रेञ्जभित्रै कारोबार हुनुपर्छ। त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ। कम्पनीमा नेपाल सरकार सहित ठूला व्यापारिक घरनाको समेत लगानी रहेकोले सेयर मूल्य माथिनै जाने अनुमान समेत गरिएको छ।
इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) ५१ हजार ६ सय ७० जनाले मात्रै न्यूनतम १० कित्ताको दरले सेयर पाएका छन्। यसमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्। कम्पनीको आईपीओमा २३ लाख २८ हजार ७०६ जना योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयरको लागि आवेदन गरेको थियो।
कम्पनीले कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्कासन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो।