आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

यसवर्ष पनि दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साटिने

आइतबार, भदौ १५ २०८२
यसवर्ष पनि दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साटिने

नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको राष्ट्र बैंकको ठहर छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा पनि सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ। 

राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेकोमा गएको वर्षयता भने चलनचल्तीकै सफा र सुकिलो नोट साट्ने व्यवस्था मिलाएको हो। प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ। 

'२०८२ को बडा दसैँमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणलगायत विभिन्न संघसंस्थालाई २०८२ भदौ २९ गतेदेखि २०८२ असोज १० गतेसम्म सुकिला बैंक नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको छ' विभागले जारी गरेको सूचनामा भनिएको छ। 

चाडपर्वका बेला ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको माग अधिक हुने गरेको छ। चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो। आार्थिक कारोबारमा सफा नोटमात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई बुझाउने गरेका छन्।

अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छापिने हुने गरेको छ। यसो गर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैंकले अनुरोध गर्दै आएको छ।

गएको वर्षको दसैँदेखि सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो। सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेको थियो।

नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भइ ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ। यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भइ पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ। 

नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको राष्ट्र बैंकको ठहर छ। 


प्रकाशित : आइतबार, भदौ १५ २०८२१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend