शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कालीगण्डकी गर्ज अर्धजलाशय आयोजनामा विशाल र त्रिवेणी ग्रुपले ३९ अर्ब ५० करोड लगानी गर्ने

बिहीबार , भदौ १२ २०८२
कालीगण्डकी गर्ज अर्धजलाशय आयोजनामा विशाल र त्रिवेणी ग्रुपले ३९ अर्ब ५० करोड लगानी गर्ने

यस आयोजनाबाट वार्षिक एक अर्ब पाँच करोड युनिटभन्दा बढी विद्युत् उत्पादन हुने अनुमान छ। वर्षामा ७१ करोड युनिट र सुक्खायाममा करिब ३४ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।

काठमाडौं- दुई ठूला व्यावसायिक घराना विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएका छन्। ग्रीन भेन्चर्स लिमिटेडमार्फत दुवै समूहले आयोजना कम्पनीको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेका हुन्।

ग्रीन भेन्चर्सले यसअघि संखुवासभा र ओखलढुंगामा ५२.२ मेगावाट क्षमताको लिखु-४ आयोजना सञ्चालनमा ल्याइसकेको छ। सम्झौतापछि कालीगण्डकी गर्ज आयोजना पनि यसको पोर्टफोलियोमा थपिएको छ। आयोजनाको उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त भइसकेको र वित्तीय व्यवस्थापन पनि सकिएको छ।

आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड रूपैयाँ अनुमान गरिएको छ। यसमध्ये ७५ प्रतिशत बैंक ऋण र २५ प्रतिशत स्वपुँजी रहनेछ।

लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा ग्लोबल आईएमई, सिद्धार्थ, हिमालयन, नेपाल एसबिआई र एभरेस्ट बैंकले सहवित्तीयकरण गरेका छन्। लगानी संरचनाअनुसार त्रिवेणी र विशाल ग्रुपले ५१ प्रतिशत, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले २५ प्रतिशत स्वामित्व लिने भएका छन्।

आयोजनाले मुस्ताङ र म्याग्दी जिल्लामा फैलिँदै अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा विद्युतगृह बनाउनेछ। यस आयोजनाबाट वार्षिक एक अर्ब पाँच करोड युनिटभन्दा बढी विद्युत् उत्पादन हुने अनुमान छ। वर्षामा ७१ करोड युनिट र सुक्खायाममा करिब ३४ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।

नेपाल विद्युत् प्राधिकरणसँगको पावर खरिद सम्झौताअनुसार, वर्षामा प्रतियुनिट ४.८० रूपैयाँ, पिकिङ अवधिमा १०.५५ रूपैयाँ र पिकिङ नहुने अवधिमा ८.४० रूपैयाँ दर कायम भएको छ। यस आधारमा आयोजना सञ्चालनमा आएपछि वार्षिक करिब सात अर्ब रूपैयाँ आम्दानी हुने र लगानीकर्ताले १७ प्रतिशत प्रतिफल पाउने अनुमान गरिएको छ।

६ घण्टा पिकिङ क्षमतासहितको आयोजनामा ६०-६० मेगावाटका तीनवटा टर्बाइन जडान गरिनेछ। करिब पाँच किलोमिटर लामो सुरुङ र ५०० मिटर हेड रहने यो आयोजना म्याग्दीको बेनीदेखि करिब २० किलोमिटर टाढा छ। उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

आयोजना २०८६ असारभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। त्रिवेणी र विशाल ग्रुपले यसअघि लिखु-४ तथा तल्लो सोलु जलविद्युत् आयोजनाबाट उत्पादन सुरु गरिसकेका छन्। पछिल्ला वर्षहरूमा यी ग्रुपले जलविद्युत् क्षेत्रलाई प्राथमिक लगानीको रूपमा अगाडि बढाएका छन्।


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend