आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

लगातार दोस्रो वर्ष चालु खाता बचतमा

बिहीबार , भदौ १२ २०८२
लगातार दोस्रो वर्ष चालु खाता बचतमा

आर्थिक वर्ष २०५६/५७ भन्दा अघिको २६ वर्षमा नेपालको चालु खाता निरन्तर घाटामा थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार त्यो अवधिमा जम्मा चार वर्षमात्र चालु खाता बचतमा रहेको थियो।

काठमाडौं- पछिल्लो ९ वर्षमा ‍सात वर्ष घाटामा रहेको मुलुकको चालु खाता पछिल्लो दुई वर्षदेखि भने लगातार बचतमा देखिएको छ। अर्थतन्त्रको समग्र लयमा सुधार नभएपनि बाह्य क्षेत्रमा सुधार देखिएको छ। यही कारणले चालु खातामा निरन्तर सुधार देखिएको हो। 

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता बचतमा गएको थियो। नेपाल राष्ट्र बैंकका सो वर्ष चालु खाता २ खर्ब २१ अर्बले बचतमा रहेको थियो। आर्थिक वर्ष २०८१/८२ मा पनि चालु खाता ४ खर्ब ९ अर्बले बचतमा रहेको छ। 

बाह्य क्षेत्र असन्तुलनको जोखिमबाट गुज्रिएको अर्थतन्त्रमा चालु खाता पछिल्लो समय निरन्तर घाटामा थियो। आर्थिक वर्ष २०७२/७३ मा १ खर्ब ४० अर्ब रुपैयाँले चालु खाता बचतमा रहेको थियो। त्यसपछि निरन्तर घाटामा गएको चालु खाता अघिल्लो वर्षदेखि बचतमा गएको हो।

चालु खाता बचतमा जानुको मुख्य कारण अर्थतन्त्रमा सुधार भएर भने होइन, अर्थतन्त्रका अन्य क्षेत्रमा देखिएको शिथिलताका कारण यस्तो परिणाम आएको हो। न्यून मागका कारणले व्यापार सुस्त हुनु हो। त्यही कारणले गर्दा आयात घटेको छ तर यही अवधिमा रेमिट्यान्समा सुधार भइरहेको छ। पछिल्लो समय मासिक एक खर्बमाथिको रेमिट्यान्स आइरहेको छ। यही कारणले चालु खाता बचतमा रहेको छ। 

गत वर्षमात्र १७ खर्ब २३ अर्बभन्दा धेरै रेमिट्यान्स देशमा भित्रिसकेको छ। यो रेमिट्यान्स जीडीपीको तुलनामा २८ प्रतिशत हो जुन हालसम्मकै उच्च हो। पछिल्लो समय निरन्तर आयात घट्ने र रेमिट्यान्स बढ्ने भइरहेको छ। 

समग्र अर्थतन्त्र शिथिल हुने अर्कोतिर रेमिट्यान्स निरन्तर वृद्धि हुँदा त्यसको प्रभाव चालु खातामा देखिएको हो।

रेमिट्यान्स र चालु खाता घाटाको सम्बन्ध कस्तो देखिन्छ? 

पछिल्लो ९ वर्षमा ७ वर्ष नेपालको चालु खाता निरन्तर घाटामा रहेको थियो। निरन्तर ७ वर्षको घाटा नेपाली अर्थतन्त्रले २०५८ सालपछि ब्यहोरेको हो। देशले वर्षभरमा वस्तु तथा सेवाको निर्यातबाट गर्ने आम्दानी र त्यसबापत भुक्तानी गर्ने रकमको अन्तर ऋणात्मक हुँदा घाटा हुन्छ। 

आर्थिक वर्ष २०५६/५७ भन्दाअघिको २६ वर्षमा नेपालको चालु खाता निरन्तर घाटामा थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार त्यो अवधिमा जम्मा चार वर्षमात्र चालु खाता बचतमा रहेको थियो।

आर्थिक वर्ष २०५७/५८ देखि भने अवस्था फेरियो। त्यसपछिका १६ वर्षमा जम्मा ३ वर्षमात्र चालु खाता ऋणात्मक भएको थियो। अर्थात् १६ वर्षमध्ये १३ वर्षसम्म मुलुकको वस्तु तथा सेवाको खुद निर्यात बचतमा थियो। 

अघिल्लो २६ वर्षमा चार वर्षमात्र बचत रहेको चालु खाता पछिल्लो १६ वर्षमा १३ वर्ष बचतमा जानुको एउटा मुख्य कारण रेमिट्यान्स थियो। जुन आर्थिक वर्षदेखि रेमिट्यान्सको प्रवाह मुलुकमा बढ्न थाल्यो त्यही वर्षदेखि चालु खाता बचतमा गएको छ।

आर्थिक वर्ष २०५७/५८ मा मुलुकमा ४७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। त्यसैले सो वर्ष खाता बचतमा थियो। त्यसपछिका वर्षमा रेमिट्यान्स प्रवाहमा वृद्धि हुँदै गयो र १६ वर्षमा १३ वर्ष मुलुकको चालु खाता बचतमा रह्यो। 

चालु खातामा गत वर्ष सुधार देखिएपनि आर्थिक क्षमता बढेरभन्दा पनि आन्तरिक बजारको शिथिलताका कारणले सिर्जना भएको परिणाम हो। यही अवस्थामा रमाउनेभन्दा पनि यसलाई कसरी दिगो बनाउने भनेर सोच्नुपर्ने अर्थशास्त्रीहरूले बताउँदै आएका छन्। 


प्रकाशित : बिहीबार , भदौ १२ २०८२०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend