काठमाडौं- प्री आईपीओको नाममा मौलाएको सेयरको ग्रे मार्केटलाई नेपाल धितोपत्र बोर्डले अवैध भएको घोषणा गरिदिएको छ।
धितोपत्र बोर्डले सार्वजनिक सूचना जारी गर्दै प्री आईपीओको कुनै पनि नियमन नभएको र यो जोखिमपूर्ण हुने भन्दै लगानीकर्ताहरूलाई सचेत गराएको छ।
पछिल्लो समय आईपीओभन्दा पहिले नै कम्पनीको सेयर खरिद गर्न लोभ्याउँदै भूमिगत कारोबार र बजार मौलाएको थियो। संस्थापकहरूको सेयरलाई आईपीओभन्दा पहिले नै नाफा गर्ने मनसायले दुई तीन चरणमा कारोबार हुने गरेको थियो। यस्तो ग्रे मार्केटलाई नियन्त्रण गर्ने खालको आशय बोर्डले व्यक्त गरेको छ।
नेपालको भन्दा परिपक्क मानिने भारतीय पुँजी बजारमा पनि यस्तो समस्या रहेको छ। वर्षौँदेखि भारतमा पनि प्री आईपीको नाममा ग्रे मार्केट मौलाएको थियो। भारतमा भने यसलाई नै नियमनको दायरामा ल्याउने बहस सुरू भएको छ।
भारतीय धितोपत्र बजारको नियामक सेबीका अध्यक्ष तुहीनकान्त पाण्डेयले प्री आईपीओलाई पनि पारदर्शी प्रणालीमा ल्याएर नियमन गर्ने बताएका छन्। उनले एक सार्वजनिक कार्यक्रममा सो कुरा बताएका हुन्।
सेबीले अहिले मौलाएको ग्रे कारोबारलाई पारदर्शी बजारमा ल्याएर नियमन गर्नेबारे सेबीका अध्यक्षले बताएपछि त्यहाँ बहस सुरू भएको छ।
आईपीओभन्दा पहिले नै सेयरमा लगानी गर्न खोज्नेहरूलाई बैधानिक बजार उपलब्ध गराउने कुरालाई कतिपयले सकारात्मक भनेका छन् भने कतिपयले यसलाई नियमनभन्दा नियन्त्रण गर्नुपर्ने सुझाव दिइरहेका छन्।