आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

'भन्सार घोषणाबिना ५ हजार डलरसम्म नेपाल ल्याउन पाइने'

मंगलबार, भदौ १० २०८२
'भन्सार घोषणाबिना ५ हजार डलरसम्म नेपाल ल्याउन पाइने'

काठमाडौं- नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्रा नेपालमा भित्र्याउन र नेपालबाट बाहिर लैजान पाउने विषयमा पुन: सूचना प्रकाशित गरेको छ। जसमा भन्सार घोषणाबिना ५ हजार डलरसम्म ल्याउन पाइने जनाइएको छ। 

२०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाबमोजिम गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकले पुन: सूचना प्रकाशित गरेको हो।

विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र दफा १२ का व्यवस्थाहरु, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २९ 'क' को व्यवस्था र २०७५ पुस २३ (खण्ड ६८, संख्या ४७, भाग ५) को नेपाल राजपत्रको सूचना समेतको आधारमा राष्ट्र बैंकले २०७५ असार ३२ र २०७५ चैत २६ मा सूचना प्रकाशन गरेको थियो।

राष्ट्र बैंकबाट प्रकाशित सूचनाबमोजिम नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजारबराबर हुन आउने भारतीय रुपैयाँसम्म र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजारबराबर सम्म) भन्सार घोषणाबिना नेपाल भित्र्याउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको छ। 

२०७५ पुस २३ को नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५ सय र १ हजार दरका नोटको कारोबार गर्न तथा भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजार दरका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ। 

साथै नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको व्यहोरासमेत राष्ट्र बैंकले जानकारी गराएको छ।


प्रकाशित : मंगलबार, भदौ १० २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend