काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा प्रवाहित कर्जामा उल्लेखनीय वृद्धि गरेका छन्। तथ्यांकअनुसार कर्जा विस्तार अघिल्लो वर्षको तुलनामा बढी भएको छ। जसले अर्थतन्त्रमा केही सुधार र गतिविधि बढेको संकेत दिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि ५.८ प्रतिशत (२ खर्ब ७६ अर्ब ९४ करोड) मा सीमित थियो।
कर्जा प्रवाहमा भएको यो वृद्धि निजी क्षेत्रको सक्रियता र अर्थतन्त्रमा सुधारको संकेतको रुपमा हेरिएको छ। विशेषगरी वाणिज्य बैंकहरूले पुँजी बजार र व्यक्तिगत कर्जा प्रवाहमा देखाएको उत्साहले आगामी वर्षमा लगानी र उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासमेत गरिएको छ।
निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६२.८ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ र ३७.२ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ पुगेको छ। अघिल्लो वर्षको तुलनामा संस्थागत क्षेत्रको हिस्सा हल्का घटेको छ भने व्यक्तिगत क्षेत्रको हिस्सा बढेको देखिन्छ। समीक्षा वर्षमा वाणिज्य बैंकहरूले ८.६ प्रतिशत, विकास बैंकहरूले ६.१ प्रतिशत र वित्त कम्पनीहरूले ८.४ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा प्रवाह गरेका छन्।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत घर जग्गाको धितोमा र १४.५ प्रतिशत चालु सम्पत्तिमा प्रवाह भएको छ। अघिल्लो वर्षको यो अनुपात क्रमशः ६६.५ प्रतिशत र १३.२ प्रतिशत थियो।
औद्योगिक उत्पादन क्षेत्रतर्फ कर्जा ७.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापारमा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रमा १२.८ प्रतिशतले बढेको छ। तर कृषि क्षेत्रतर्फ कर्जा ०.२ प्रतिशतले घटेको देखिन्छ।
समीक्षा वर्षमा आवधिक कर्जा ७.१ प्रतिशत, रियल स्टेट कर्जा ५.९ प्रतिशत, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ५१.१ प्रतिशत, हायर पर्चेज कर्जा ३.७ प्रतिशत र डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ। यसैबीच ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा सेयर धितो कर्जा (मार्जिन कर्जा) मा खुकुलो नीति अपनाइएपछि वाणिज्य बैंकहरूले पुँजी बजारमा लगानी बढाएका छन्।
सेयर कर्जा सीमा १५ करोडबाट २५ करोडमा पुर्याइएको र जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशतमा घटाइएको छ। गत वर्ष बैंकहरूले कुल १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँको तुलनामा ६६ प्रतिशत बढी हो।
निक्षेपमा वृद्धि
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १२.६ प्रतिशत (८ खर्ब ११ अर्ब ४९ करोड) ले वृद्धि भएको छ। अघिल्लो वर्ष यो वृद्धि १३ प्रतिशत (७ खर्ब ४२ अर्ब ३७ करोड) थियो। २०८२ असार मसान्तमा कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.१ प्रतिशत, ३६.८ प्रतिशत र ४८.३ प्रतिशत रहेको छ।
कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.२ प्रतिशतको तुलनामा स्थिर देखिएको छ।