बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

पाँच कलाकारका कला : काठमा बालुवा भरेको थांकादेखि धार्मिक र मिथिला कलासम्म

सोमबार, भदौ ९ २०८२
पाँच कलाकारका कला : काठमा बालुवा भरेको थांकादेखि धार्मिक र मिथिला कलासम्म

बालुवामा पनि थांकाकाको प्रभाव राम्ररी प्रस्तुत गर्न कलाकार सक्षम देखिन्छन्। मण्डलाजस्तो कला पनि बालुवाबाट बनाइएको सिर्जना हेर्न लायक छ।

काठमाडौं- प्रायः क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ। तर काठमा पनि क्यानभासमा झैँ महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो। यसमाथि रङ पोतेर होइन, बालुवा चालेर। त्यो पनि थांका कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निक्कै कठिन काम हो।

नयाँनयाँ कलाको अभ्यास गर्न रुचाउने कलाकार छेपाल दोर्जे शेर्पाले यसपाली ठमेलमा भइरहेको कला प्रदर्शनीमा त्यही नौलो प्रस्तुति दिएका छन्। सिसौको काठमा उनले पहिले रेखा कोरे। यसमा गम लगाए। फरकफरक रंग मिसाएर तयार पारिएको रंगीन बालुवा चुहाएर उनले मण्डला तयार पारे। मण्डलाको बीच भागमा हरित तारा (ग्रीन तारा) बनाएका छन्।

ठमेलस्थित छाया सेन्टरमा रहेको ‘द कला सलोन’मा पाँच जना कलाकारमध्ये शेर्पाको एउटा मात्रै कला प्रस्तुत भएको छ, ‘हरित तारा मण्डला’। झट्ट हेर्दा ‘वाउ लाग्ने’ कला क्यानभासमा बनाइएको ठानिए पनि चित्र काठको फ्ल्याकमा रंगीन बालुवाको प्रयोग गरी सिर्जना गरिएको हो। बालुवामा पनि थांकाकाको प्रभाव राम्ररी प्रस्तुत गर्न कलाकार सक्षम देखिन्छन्। मण्डलाजस्तो कला पनि बालुवाबाट बनाइएको सिर्जना हेर्न लायक छ।

उनी भन्छन्, 'केही नयाँ दिउँ भनेर यो कला सिर्जना गरिएको हो, धार्मिक मान्यता अनुसार ने बालुवाको यो थांका तयार पारिएको हो।' विविधता बोकेको नेपालमा कलाको पनि विविधता रहेको छ। थांका पौभा जस्ता मौलिक परम्परागत कलाका साथै थारु, अवधि, मिथिला जस्ता लोक कलाका साथै आधुनिक, समसामयिक कलाले नेपाललाई चिनाइरहेको छ। यस्तै कलाकृतिहरुसँग बनेको छ यहाँको कला प्रदर्शनी ‘द हिमालयन नाउ’।

ठमेल स्थित ‘द कला सलोन’मा जारी प्रदर्शनीमा ३२ थान कलाकृतिहरु सजिएका छन्। प्रदर्शनी संयोजक अर्का कलाकार उमेश श्रेष्ठका आठ थान कलाकृति प्रदर्शनीमा राखिएका छन्। घण्टीलाई मुख्य विषय बनाइ आफ्नो भावना पोख्ने श्रेष्ठले प्रदर्शनीमा धार्मिक विषयलाई समाजसँग जोडेर कला सिर्जना गरेका छन्। उनका ‘द होली किस’, लिभिङ गणेस, ‘विट्विन डिभोशन एण्ड सर्कल, दोलखाको भीमसेन, कुमारीजस्ता चित्रमा नेपाली कलामा आधुनिक चेतको आभाष पाउन सकिन्छ।

उनी भन्छन्, 'नेपाली समसामयिक तथा आधुनिक कलामा आफ्नोपन कसरी ल्याउने अभ्यास भएका कलालाई कसरी आधुनिकरुपमा परिभाषा गर्ने भन्ने सोच आफ्नो रहेकाले हिमालयनलाई जोडेर पहिचान विश्वमा पुर्‍याउने आफ्नो प्रयास हो।' उनले यो विषयमा सिरिजमा कला प्रदर्शनी गर्ने योजना रहेको सुनाए।

उनले नेपाली समसामयिक कलालाई पुन:परिभाषित गरेर नेपाली कलालाई विश्व पहिचान दिने यात्रामा लागेको बताए। १३ वर्ष अघिको एउटा युवतीका वास्तविक कथालाई उतारेर उनले ‘प्रणय दिवस’ शीर्षकमा चोखो माया के हो त भनेर प्रस्तुत गरेका छन्।

आफ्नै घरमा डेरा गरेर बसेका केटासँग ती युवतीको लभ पर्छ। दुई वर्ष जीवित रह्यो। त्यसपछि खटपट भयो। तर पनि ती केटीले उसका लागि उपहार दिनका लागि कुरिरहेकी हुन्छिन्। चिमा ती युवती हिउँ परिरहेका बेला पनि केटालाई उपहार दिन कुरिरहेको दृष्य निक्कै मार्मिक लाग्छ।

अर्की वीरगञ्जकी कलाकार राखी कर्णका १० वटा कलाकृतिमा मिथिला कलाको सुगन्ध यहाँ पाइन्छ। उनले विष्णुलोक, दश अवतार, राधाकृष्ण, मयुर, भगिरथ गंगा, छिन्नमस्ता जस्ता विषयमा कलाकृति सिर्जना गरेकी छिन्।

अर्का कलामा कलाकार कर्णले प्राय सुतिरहने नारायणको जागृत मुद्रालाई समेटेर प्रस्तुत गरेका छन्। अर्काे कलामा बुद्धका जन्म, बाल्यकाल, घर छाडेको र देहावसानलाई एउटै क्यानभासमा समेटेकी छिन्। उनी भन्छिन्, 'टिपिकल मिथिला आर्टबाट अलिकति फरक कन्सेप्चुअल आर्टलाई अगाडि बढाउँदै छु, दुनियाँको अगाडि मिथिला कला राम्रो मूल्यमा पठाउन सकिन्छ भन्ने उद्देश्य मेरो हो, कलरलाई पनि खेलाएर प्रस्तुत गरेकी छु।'

सानैमा भित्तामा कला कोरेर कला सिर्जनामा लागेकी कर्ण १० वर्षदेखि भने क्यानभासमा कला भर्दै आएकी छिन्। उनले यमा मिथिलालाई फ्यूजन गरेकी छिन्। मिथिया आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ। त्यही कलालाई आर्ट भ्यालु जोडेर उहाँले नयाँ प्रयोग गरिरहेकी छिन्।

त्यस्तै, कलाकार शुभाद्री शुभाले पनि मिथिला शैलीमै ११ थान कला प्रदर्शनीमा राखेकी छिन्। उनका कलामा माछा, कृष्ण बाललिला, मयुर, दश अवतारजस्ता विषयलाई समावेश गरेकी छिन्। यस्तै कलाकार कुमार थापाका दुई थान आधुनिक मूर्ति राखिएका छन्। मुर्तिहरु ‘स्टेनलेस स्टिल’बाट बनाइएको छ।

विविध धारमा बगिरहेको कलामा नेपालीपनको खोजी प्रदर्शनीको उद्देश्य रहेको प्रदर्शनी संयोजक उमेश श्रेष्ठ बताउँछन्। उनी भन्छन्, 'यसै कारण विविध विधामा काम गरिरहेका कलाकारलाई एकै स्थानमा ल्याउने प्रयास गरिएको हो।'

सो स्टुडियोले प्रदर्शनीको संयोजन तथा योजना बनाएको जनाउँदै श्रेष्ठले जारी प्रदर्शनी आगामी भदौ २४ गतेसम्म रहने बताए। रासस


प्रकाशित : सोमबार, भदौ ९ २०८२११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend