काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा नेपालले ऐतिहासिक मात्रामा रेमिट्यान्स भित्र्याएको छ। समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढ्दै १७ खर्ब २३ अर्ब २७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यो वृद्धि दर १६.५ प्रतिशत थियो।
विशेषगरी २०८२ असार महिनामै हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ। असारमा मात्र १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन अघिल्लो वर्षको सोही महिनामा आएको १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ भित्रिएको थियो।
अमेरिकी डलरमा मापन गर्दा समीक्षा वर्षमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले बढ्दै १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर १४.५ प्रतिशत थियो।
पछिल्ला महिनामा रेमिट्यान्स प्रवाह महिनैपिच्छे नयाँ रेकर्ड कायम गर्दै गएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत महिनामा १ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रिएको थियो। यसपछि फागुनमा प्रवाह बढ्दै १ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। बैशाखमा झन् वृद्धि भइ १ खर्ब ६५ अर्ब पुगेको रेमिट्यान्स जेठमा १ खर्ब ७६ अर्बमा पुगेको थियो। सबैभन्दा धेरै भने असार महिनामा भित्रिएको छ।
असारमा मात्रै १ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। जुन हालसम्मकै उच्च मासिक रेमिट्यान्स प्रवाह हो। यसरी, फागुनदेखि असारसम्म पाँच महिनासम्म लगातार नयाँ रेकर्ड कायम हुनु रेमिट्यान्स आप्रवाह निरन्तर उकालो लागिरहेको स्पष्ट संकेतका रूपमा लिइएको छ।
वैदेशिक रोजगारीतर्फ पनि वृद्धि
रेमिट्यान्ससँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा समेत वृद्धि भएको छ। समीक्षा वर्षमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपाली ५ लाख ५ हजार ९५७ पुगेका छन् भने पुनः श्रम स्वीकृति लिने ३ लाख ३३ हजार ३०९ रहेका छन्। अघिल्लो वर्ष यस्ता संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ मात्र थियो।