काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने घोषणा गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज (भदौ ८ गते) रकम आह्वान गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको गुणकमा रकम प्रस्ताव गर्न सक्नेछन्। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाइएको छ।
निक्षेप संकलन बोलकबोल ब्याजदरमै हुने र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यसमा सहभागी हुन पाउने छन्।
यो निक्षेप संकलन उपकरण २१ दिनका लागि हुनेछ र भदौ २९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।