बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गम्भीर अपराधको मुद्दामा सजाए भोगेका लामालाई पर्यटनमन्त्री आलेले गरे बोर्ड सदस्यमा नियुक्त

मन्त्री आलेको बदमासी बचाउमा सहसचिव लुइटेल

बिहीबार , फागुन १२ २०७८
गम्भीर अपराधको मुद्दामा सजाए भोगेका लामालाई पर्यटनमन्त्री आलेले गरे बोर्ड सदस्यमा नियुक्त

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गम्भीर अपराधमा सजाय काटेको व्याक्तिलाई नेपाल पर्यटन बोर्ड सदस्यमा नियुक्ति दिएका छन्।  

आलेले लागुऔषध कारोबार र बैंक लुटपाटमा संलग्न भएर कैद भुक्तानिसमेत गरेका विवादित टासी लामा भनेर चिनिने लिलाबहादुर तामाङलाई नियुक्ति दिएका हुन्। यसअघि नेकपा एमाले निकट रहेका लामाले पर्यटनमन्त्री आलेलाई प्रभावमा पारेर नियुक्ति हात पारेका छन्।

मन्त्री आलेले हताहतार बोर्ड सदस्यमा नियुक्ति दिलाउन पर्यटन मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा पर्यटन व्यवसायी माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समिति गठन गरेका थियो। समितिले पर्यटन व्यवसायी मदन कुमार आचार्य र लिला बहादुर तामाङलाई बोर्ड सदस्य बनाउन सिफारिस गरेको थियो। समितिलाई मन्त्री आले र पर्यटन बार्डकै उपाध्यक्ष रिजालले नाम दिएका थिए। मन्त्री आलेले सिफारिस भएकै दिन २०७८ फागुन ६ गते नियुक्तिसमेत दिएका थिए।

सिफारिस समितिका संयाेजक लुइटेललाई हामीले लागुऔषध कारोबार र बैंक लुटपाटमा संलग्न रहेको ठहर भएका व्यक्तिलाई कसकाे दबाबमा बाेर्ड सदस्य नियुक्ति गरिएको हो? भनेर प्रश्न गरेका थियौँ। हाम्राे प्रश्नमा लुइटेलले कतिपय नाम मन्त्री लगायतका ठाउँबाट पनि आएकाे  बताए। 

सिफारिस गर्दासम्म तमाङको विषयमा सूचना नपाएको र पछि सूचना पाएपछि नियुक्ति राेकेकाे दाबी सहसचिव लुइटेलकाे थियो। लुइटेलले  नियुक्ति भने नभएको दाबी गरेका थिए। उनले मदन आचार्यलाई मात्रै नियुक्ति गरेको दाबी गरेका थिए। तर नियुक्ति भएको पत्रकै विवरण जानकारी गराएपछि उनले तामाङलाई राजीनामा दिन लगाएको भन्दै बाेली फेरेका थिए। मन्त्री आलेको निर्णयअनुसार फागुन ६ गते नै नियुक्ति दिएको पत्रमा उनै लुइटेलले हस्ताक्षर गरेका छन्।

letter.jpg

पर्यटनमन्त्री आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई हटाउने उद्देश्यले बहुमत पुर्‍याउन विवादित व्याक्तिलाई नियुक्ति दिएका हुन्। खासगरी नेकपा एमालेका नेता तथा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको दबाबमा मन्त्री आलेले लामालाई नियुक्ति दिएकोसमेत खुलेको छ।  

काभ्रे जिल्लास्थित रोशी गाउँपालिका-९ का स्थायी बासिन्दा रहेका लामा हाल भक्तपुरको सुर्यविनायक-६ मा बस्दै आएका छन्। माओवादी द्वन्द्वकालमा बैंक लुटपाटको आरोपमा पक्राउ परि उनी जेल सजाय काटिरहेका थिए। जेलमै रहेका बेला उनी २० लाख रकम र लागु औषध १५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए। 

लामाले एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकार कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेका थिए। लामाले लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार २०६२ सालदेखि जेलमा थिए। काठमाडौं जिल्ला अदालतले २०६२ मा १० वर्षको कैद सजायको फैसला गरेको थियो। 

लामाले जेलभित्रबाटै समेत ब्राउन सुगरको कारोबार गरेका थिए। जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफि सपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपैयाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए। त्यसबेला लामाको साथबाट १५ ग्राम ब्राउन सुगर फेला परेको थियो। 

उनै लामालाई तत्कालीन एमालेका झलनाथ खनाल प्रधानमन्त्री रहँदा २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर आममाफी दिँदै जेलबाट छुटाइएको थियो।


प्रकाशित : बिहीबार , फागुन १२ २०७८११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend